logo

२०८३ असोज ३० शुक्रबार

पहिलो दिन ६ लाख कमाएको ‘बाः एक योद्धा’को कलेक्सन करोडमाथि, आजबाट दोस्रो सातामा प्रवेश

पहिलो दिन ६ लाख कमाएको ‘बाः एक योद्धा’को कलेक्सन करोडमाथि, आजबाट दोस्रो सातामा प्रवेश

312
SHARES
पहिलो दिन ६ लाख कमाएको ‘बाः एक योद्धा’को कलेक्सन करोडमाथि, आजबाट दोस्रो सातामा प्रवेश

पहिलो दिन ६ लाख रुपैयाँको कारोबारबाट यात्रा सुरु गरेको चलचित्रले बिहीबारसम्म आइपुग्दा उक्त आँकडा १ करोड ११ लाख रुपैयाँ पुर्‍याएको हो। सात दिनको अवधिमा ४० हजार ८२३ दर्शकले चलचित्र हेरेका छन्।

सुरुवाती दिनको तुलनामा पछिल्ला दिनमा दर्शकको चाप बढ्दै गएपछि हलहरूले पनि शो संख्या थप्न थालेका छन्। वितरकका अनुसार अहिले देशभर चलचित्रले एक सयभन्दा बढी शो पाएको छ।

चलचित्रका मुख्य कलाकार दिव्यदेवले ‘बाः एक योद्धा’को व्यापारलाई इभी गाडीसँग तुलना गरेका छन्। उनका अनुसार चलचित्रले पेट्रोल वा डिजेल गाडीले जस्तो सुरुदेखि तीव्र गति लिनुभन्दा विस्तारै आफ्नो गति बढाइरहेको छ।

दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियासँगै चलचित्रको व्यापारमा पनि क्रमिक सुधार देखिएको निर्देशक हरि लम्सालको भनाइ छ। उनी दर्शकले परिवारका अन्य सदस्यलाई समेत चलचित्र हेर्न सिफारिस गरिरहेको बताउँछन्।

“हरेक दिन सिनेमाको व्यापार बढिरहेको छ। चलचित्र हेर्ने दर्शकले परिवारका सबै सदस्यलाई सिनेमा हेर्न पठाउने बताइरहनु भएको छ,” निर्देशक लम्सालले भने, “यसले अब हरेक दिन दर्शकको संख्या बढ्दै जानेमा हामी ढुक्क छौँ।”

चलचित्रले राम्रो ‘वर्ड अफ माउथ’ पाइरहेको र दोस्रो सातामा दर्शकको साथ अझ बढ्ने अपेक्षा गरिएको निर्देशक लम्सालले बताए। “हाम्रो जस्तो सिनेमा दोस्रो हप्तामा चलेको विगत छ,” उनले भने, “यसले हाम्रो सिनेमाले पनि दोस्रो हप्ताबाट धेरै दर्शकको साथ पाउने देखिएको छ।”

‘बाः एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्यका लागि अभिभावकले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ। सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र पीडासम्मका विषय चलचित्रमा प्रस्तुत गरिएको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता रहेका छन्। चलचित्रको कथा तथा पटकथा पनि निर्देशक हरि लम्सालकै हो।


शुक्रबार, १६ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go