फेसबुक रिल्सदेखि टिकटक सम्मै चर्चामा ।
गायक चक्र बम र गायिका बिपना सिंहको स्वरमा रहेको नयाँ नृत्यप्रधान गीत ‘लालुमै गालुमै’ यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ। आकर्षक लय, रमाइलो शब्द र नृत्यात्मक प्रस्तुतिसहित सार्वजनिक गरिएको गीत फेसबुक रिलदेखि टिकटक भिडियोसम्म प्रयोग हुन थालेपछि यसको चर्चा थप बढेको हो। विशेषगरी गीतमा समावेश गरिएको जेनजी पुस्तासँग सम्बन्धित शब्दले नयाँ पुस्ताको ध्यान खिचेको देखिन्छ।
चक्र बमको शब्द तथा संगीत रहेको गीतमा बिपना सिंहले स्वरमा साथ दिएकी छन्। गीतको भिडियोमा चक्र बम र सञ्जना गुरुङको अभिनय तथा नृत्य देख्न सकिन्छ। रोशन विश्वकर्माको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा आकर्षक नृत्य र मनोरञ्जनात्मक प्रस्तुति समेटिएको छ। एचबीएन किस्मतले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
गीतमा ‘जेनजी केटी बिन्दास छे, बबाल छे’ तथा ‘जेनजी केटो भुतुक्कै भइहाल्छ’ जस्ता पङ्क्ति समावेश छन्। नयाँ पुस्ताको स्वभाव, प्रेम र आकर्षणलाई रमाइलो शैलीमा प्रस्तुत गरिएका यस्ता शब्दले गीतलाई अन्य नृत्यप्रधान गीतभन्दा फरक स्वाद दिएको छ। सामाजिक सञ्जालमा छोटा भिडियो र रिल बनाउन मिल्ने लय तथा नृत्यका कारण पनि गीतको प्रयोग बढिरहेको छ।
बिपना सिंहको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘लालुमै गालुमै’ मा चक्र बमको शब्द तथा संगीतसँगै बिपना सिंहको स्वर र कलाकारहरूको नृत्यात्मक प्रस्तुतिको संयोजन देखिन्छ। सामाजिक सञ्जालमा गीतको चर्चा बढ्दै जाँदा यसले नयाँ पुस्तालाई लक्षित नेपाली नृत्यप्रधान गीतको रूपमा आफ्नो उपस्थिति बनाउँदै गएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd