logo

२०८३ कार्तिक ८ शनिबार

‘अक्षरा’को प्रचारप्रसार तीव्र

‘अक्षरा’को प्रचारप्रसार तीव्र

169
SHARES
‘अक्षरा’को प्रचारप्रसार तीव्र

यही शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ । फिल्मको प्रचार अभियानअन्तर्गत आइतबार काठमाडौंमा साइकल र्‍याली आयोजना गरिएको हो ।

कीर्तिपुरबाट सुरु भएको र्‍याली कपनस्थित क्लब मण्डलामा पुगेर टुंगिएको थियो । र्‍यालीमा २५० भन्दा बढी साइकल यात्रीको सहभागिता रहेको निर्माण पक्षले जनाएको छ ।

र्‍यालीपछि क्लब मण्डलामा आयोजित पत्रकार भेटघाटमा निर्देशक विनयराज पौडेलले ‘अक्षरा’ महिला सशक्तीकरणको विषयमा केन्द्रित रहेको बताए । उनका अनुसार फिल्मले महिलाको आवाजलाई उठाए पनि यसको कथावस्तु महिलामा मात्रै सीमित छैन ।

‘यो फिल्म महिलाहरूको आवाज हो । तर, महिलाको मात्र कथा होइन । नेपाली समाजका विभिन्न पक्षलाई पनि फिल्ममा समेटेका छौं,’ निर्देशक पौडेलले भने ।

फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काले ‘अक्षरा’ आफ्नो करिअरका लागि विशेष फिल्म रहेको बताइन् । फिल्मको सम्पूर्ण कथा नै आफ्नो पात्रको वरिपरि अघि बढ्ने भएकाले भूमिका निर्वाह चुनौतीपूर्ण भए पनि यसले आफूलाई अभिनय क्षमता प्रस्तुत गर्ने राम्रो अवसर दिएको उनको भनाइ छ ।

फिल्ममा भावनाका विभिन्न आयाम प्रस्तुत गर्ने अवसर पाएको उल्लेख गर्दै न्यान्सीले ‘अक्षरा’लाई आफूले निकै महत्व दिएको बताइन् ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा न्यान्सीसँगै सुशील सिटौला, रिस्ता बस्नेत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्कालगायत कलाकारको अभिनय छ ।

फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन् । असोज २३ गतेदेखि प्रदर्शनमा आउने ‘अक्षरा’ले महिला सशक्तीकरणसँगै नेपाली समाजका विविध पक्षलाई कथामार्फत प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।


आइतबार, १८ असोज २०८३
सम्बन्धित समाचार
Go