अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराईको मुख्य भूमिका रहेको चलचित्र ‘शुभ विवाह’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्मको छायांकन निर्धारित समयभन्दा पाँच दिनअघि नै सकिएको हो।
निर्माण टिमले ४५ दिनको छायांकन तालिका बनाएको थियो। तर, निर्धारित समयभन्दा अगावै फिल्मको सम्पूर्ण सुटिङ सकिएको निर्देशक सुदर्शन थापाले बताएका छन्। करिब ४० दिनअघि पोखरामा क्यामेरा पूजाअर्चना गर्दै फिल्मको छायांकन सुरु गरिएको थियो।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराईसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई र कृष्ण ढुङ्गानालगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काले यसअघि चर्चित चलचित्र ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। त्यसैले ‘शुभ विवाह’मा यो जोडीको पुनः सहकार्यलाई लिएर पनि दर्शकमाझ चासो देखिएको छ।
सुप्रिया कटुवालको लगानी रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माताका रूपमा रहेका छन्। फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्।
निर्माण पक्षका अनुसार चलचित्र ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। छायांकन सकिएसँगै अब फिल्मको पोस्ट प्रोडक्सन र प्रचारप्रसारको तयारी अघि बढ्नेछ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd