कतिपय हलमा अझै चल्दै छ ।
नेपाली चलचित्र ‘गौँथली’ले बक्सअफिसमा आफ्नो बलियो यात्रा जारी राखेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको अरुण क्षेत्री र सिम्रन खड्का अभिनीत यो फिल्मले ८० दिनमा २६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार ‘गौँथली’ले ८०औँ दिनसम्म २६ करोड १ लाख ९६ हजार रुपैयाँ ग्रस व्यापार गरेको हो। यस अवधिमा फिल्मका ९ लाख ४४ हजार २६३ टिकट बिक्री भएका छन्।
योसँगै ‘गौँथली’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बन्न सफल भएको छ। साथै, यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सबैभन्दा धेरै व्यापार गर्ने फिल्मको रेकर्ड पनि ‘गौँथली’कै नाममा रहेको छ।
फिल्मले केही समयअघि प्रदर्शनको ५१औँ दिनसमेत मनाइसकेको छ। लगातार दर्शकको साथ पाइरहेको ‘गौँथली’ अब १०१औँ दिन मनाउने लक्ष्यतर्फ अघि बढिरहेको निर्माण पक्षको भनाइ छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘गौँथली’का निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन्। फिल्मको निरन्तरको व्यापारले नेपाली चलचित्रको बक्सअफिसमा नयाँ रेकर्डतर्फको सम्भावना समेत बढाएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd