फिल्म ‘बाः एक योद्धा’ले प्रदर्शनको १० दिनमा दुई करोड रुपैयाँ नजिकको ग्रसकलेक्सन गरेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले आइतबारसम्म १० दिनमा १ करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रस व्यापार गरेको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षका अनुसार उक्त अवधिमा चलचित्र ६५ हजार ५ सय ६० दर्शकले हेरेका छन्। प्रदर्शनको सुरुवाती केही दिन अपेक्षाकृत सुस्त देखिए पनि चौथो–पाँचौँ दिनपछि चलचित्रले गति लिएको हो। अहिले हलमा दर्शकको चाप बढ्दै गएको जनाइएको छ।
निर्देशक हरि लम्सालले चलचित्रप्रति सकारात्मक ‘वर्ड अफ माउथ’ बनेकाले शो संख्या पनि बढिरहेको बताए। उनका अनुसार दर्शकबाट चलचित्र राम्रो रहेको र हेर्नुपर्ने प्रतिक्रिया आइरहेको छ।
चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको मुख्य विषय बनाएको छ। सन्तानका चाहना पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र पीडासम्मका पक्षलाई चलचित्रमा प्रस्तुत गरिएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd