logo

२०८३ कार्तिक ८ शनिबार

‘पेन्सन पट्टा’को कमाइ ९ करोड पार, ‘बेहुली’ तीन करोडमै सीमित

‘पेन्सन पट्टा’को कमाइ ९ करोड पार, ‘बेहुली’ तीन करोडमै सीमित

  • kollywood 1
  • सोमबार, १९ असोज २०८३
195
SHARES
‘पेन्सन पट्टा’को कमाइ ९ करोड पार, ‘बेहुली’ तीन करोडमै सीमित

दयाहाङ राई अभिनीत चलचित्र ‘पेन्सन पट्टा’ले बक्सअफिसमा ९ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्सअफिस रिपोर्टअनुसार भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले २४ दिनमा ९ करोड १३ लाख १६ हजार ५०३ रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

यस अवधिमा ‘पेन्सन पट्टा’का ३ लाख २१ हजार ३६२ टिकट बिक्री भएका छन्। प्रदर्शनको सुरुवाती दिनमा सुस्त देखिएको फिल्मले पछिल्लो समय भने व्यापारमा गति लिएको हो। विशेषगरी दोस्रो शनिबारदेखि फिल्मको व्यापार थप आक्रामक बनेको बताइएको छ।

माओत्से गुरुङको निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो। फिल्मले लाहुरे जीवनशैलीसँग जोडिएको पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडालाई कथाको मुख्य विषय बनाएको छ।

फिल्ममा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन्। त्यसैगरी विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनीभा तुलाधर र सुरज तमुलगायत कलाकारको अभिनय रहेको छ। फिल्ममा स्वर्गीय सुनील थापालाई समेत देख्न सकिन्छ।

यता, सोही मितिमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली’को व्यापार भने तुलनात्मक रूपमा कमजोर देखिएको छ। २४ दिनमा फिल्मले २ करोड ९९ लाख १३ हजार ८२४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिमा १ लाख ६ हजार ४५९ टिकट बिक्री भएका छन्।

‘बेहुली’को पछिल्लो एक साताको व्यापारमा करिब ३ लाख रुपैयाँ मात्रै वृद्धि भएको छ। सुरुवाती दिनमा उत्साहजनक प्रतिक्रिया पाए पनि त्यसपछि फिल्मले अपेक्षाअनुसार दर्शक तान्न नसकेको देखिएको छ।

चर्चित संगीतकार अर्जुन पोखरेलको डेब्यु लगानी रहेको ‘बेहुली’ लभस्टोरी जनरामा बनेको फिल्म हो। सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँलगायत कलाकारको अभिनय छ।


सोमबार, १९ असोज २०८३
सम्बन्धित समाचार
Go