logo

२०८३ कार्तिक ९ आइतबार

‘जुबा’को छायांकन पूरा

‘जुबा’को छायांकन पूरा

182
SHARES
‘जुबा’को छायांकन पूरा

सौगात मल्ल स्टारर चलचित्र ‘जुबा’को छायांकन पूरा भएको छ । अस्त्र फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन ९० दिन लगाएर सम्पन्न गरिएको हो ।

नेपालका सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरका विभिन्न स्थानसँगै भारतको राजस्थानमा समेत चलचित्रको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । कथाको मागअनुसार दृश्यलाई प्रभावकारी बनाउन निर्धारित समयभन्दा केही बढी समय लगाएर छायांकन गरिएको बताइएको छ ।

कलाकार तथा प्राविधिकको निरन्तर मेहनत र सहकार्यपछि छायांकन सकिएको हो । अब चलचित्र पोस्ट–प्रोडक्सनको चरणमा प्रवेश गरेको छ । निर्माण पक्षले अन्तिम चरणमा पनि गुणस्तरलाई प्राथमिकतामा राख्दै आवश्यक समय खर्च गर्ने जनाएको छ ।

सजना थापा निर्मात्री रहेको ‘जुबा’मा शेखर पाण्डे सहनिर्माताका रूपमा छन् । चलचित्रको कथा तथा निर्देशन प्रकाश कर्णको हो भने पटकथा/लेखन वर्षा पौडेलले गरेकी छन् ।

चलचित्रमा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल प्रमुख भूमिकामा छन् । सोफीले ‘जुबा’बाट अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् । सुधनका लागि भने यो तेस्रो चलचित्र हो । यद्यपि, उनले यसअघि अभिनय गरेका दुई चलचित्र प्रदर्शनमा आउन बाँकी छन् । ‘जुबा’मा उनले पहिलोपटक मुख्य भूमिका निर्वाह गरेका छन् ।

चलचित्र घोषणा गर्दा सार्वजनिक गरिएका तीन क्यारेक्टर पोस्टरले पनि दर्शकमाझ कौतूहल बढाएको थियो । पोस्टरमा सौगातको फरक लुक्ससँगै पीसीओबाट फोनमा कुराकानी गरिरहेको दृश्य र सिगारसहितको सुधनको चरित्र देखाइएको थियो । सुधनको गेटअपले उनको भूमिका नकारात्मक हुनसक्ने संकेत गरेको छ ।

कलाकारको पहिरन, लुक्स र चलचित्रको दृश्य परिवेश हेर्दा कथा करिब दुई दशकअघिको समय आसपास केन्द्रित रहेको अनुमान गर्न सकिन्छ । तर, निर्माण पक्षले अहिलेसम्म कथाको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

‘जुबा’को प्रदर्शन मिति भने तय भइसकेको छैन । पोस्ट–प्रोडक्सनको काम अघि बढेसँगै उपयुक्त मिति छनोट गरी छिट्टै प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।


बुधबार, २१ असोज २०८३
सम्बन्धित समाचार
Go