अभिनेत्री रेखा थापा मुख्य भूमिकामा रहेको चलचित्र ‘३६ को आँकडा’को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर सुन्न सकिन्छ । गीतका शब्द सुरेश अधिकारीले रचना गरेका हुन् ।
चलचित्रको प्रचार अभियानलाई थप गति दिने उद्देश्यसहित सार्वजनिक गरिएको गीतले दर्शकमाझ फिल्मप्रति आकर्षण बढाउने अपेक्षा निर्माण पक्षले राखेको छ ।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रेखा थापा यस फिल्ममा प्रमुख भूमिकामा प्रस्तुत हुँदैछिन् । पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा रेखासँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ । विभिन्न पुस्ताका चर्चित कलाकार एकसाथ देखिनुले पनि चलचित्रलाई चासोका साथ हेरिएको छ ।
रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ । सबिर श्रेष्ठको निर्देशनमा तयार भएको फिल्मले पारिवारिक सम्बन्ध, आपसी मतभेद र त्यसबाट सिर्जना हुने परिस्थितिलाई कथाको केन्द्रमा राखेको छ ।
पारिवारिक सम्बन्धका उतारचढावलाई चलचित्रले कस्तो शैलीमा प्रस्तुत गर्छ भन्ने विषयले दर्शकमाझ उत्सुकता बढाएको छ । ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd