नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्यसहित निर्माण गरिएको चलचित्र आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सर्भाइभल कथामा आधारित यस चलचित्रमा स्वर्गीय अभिनेता सुनिल थापाको समेत अभिनय रहेको छ। यो उनको अभिनय रहेको अन्तिम चलचित्र हो।
चलचित्रमा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापा मुख्य भूमिकामा छन्। नेपाली चलचित्र क्षेत्रमा दशकौँसम्म योगदान दिएका थापाको अन्तिम अभिनयलाई नेपालसहित अन्तर्राष्ट्रिय बजारका दर्शकमाझ पुर्याउनु उनको योगदानप्रतिको सम्मान भएको निर्माण पक्षले जनाएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक धिराज राजवंशीले ‘हिमालयन गोल्ड’लाई नेपाली चलचित्रको परम्परागत शैलीभन्दा फरक ढंगले तयार पारिएको बताए। चलचित्रमा गीत समावेश नगरिए पनि पृष्ठभूमि संगीतले कथालाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। प्राविधिक पक्षलाई सशक्त बनाउन अन्तर्राष्ट्रिय टोलीसँग सहकार्य गरिएको पनि उनले जानकारी दिए।
चलचित्र भारत, जापान र अस्ट्रेलियालगायतका देशमा नेपाली भाषामै स्थानीय भाषाका सबटाइटलसहित प्रदर्शन गरिनेछ। भारतको प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले चलचित्रलाई डब गरेर प्रदर्शन गर्ने प्रस्ताव गरे पनि निर्देशक राजवंशीले मौलिकता जोगाउने उद्देश्यले त्यसलाई स्वीकार नगरेको बताए।
‘डबिङ गर्दा चलचित्रको वास्तविक अनुभूति हराउन सक्छ। म यसमार्फत नेपालका मौलिक विशेषता र केही फरक कुरा विश्वसामु प्रस्तुत गर्न चाहन्थेँ,’ राजवंशीले स्पष्ट पारे।
मुख्य अभिनेत्री परीक्षा लिम्बूले ‘हिमालयन गोल्ड’ आफ्ना अघिल्ला चलचित्रभन्दा विषयवस्तु र प्रस्तुतिका हिसाबले भिन्न रहेको बताइन्। यसअघि सामाजिक, पारिवारिक र प्रेमकथामा आधारित चलचित्रमा अभिनय गरेकी लिम्बूले यसपटक जीवनका सबै कुरा गुमाइसकेको व्यक्तिले बाँच्नका लागि गर्ने संघर्षको कथा निर्वाह गरेकी छन्।
नेपालमा महिलालाई केन्द्रमा राखेर चलचित्र निर्माण हुने क्रम तुलनात्मक रूपमा कम रहेको उल्लेख गर्दै उनले यस परियोजनामा जोडिन पाउनु विशेष अवसर भएको बताइन्। चुनौतीपूर्ण विषयवस्तु भए पनि छायांकन सहज रूपमा सम्पन्न भएको उनको भनाइ थियो।
अभिनेता कर्मा शाक्यले पनि नयाँ निर्देशक र फरक अवधारणामा आधारित चलचित्रमा काम गर्न आफू सधैँ उत्साहित रहने बताए। ‘हिमालयन गोल्ड’को पटकथा नेपाली चलचित्रमा सामान्यतया देखिने कथाभन्दा फरक रहेको उल्लेख गर्दै उनले महिला पात्रलाई केन्द्रमा राखिएका चलचित्रको बजार सम्भावना पहिचान गरेकोमा निर्देशकप्रति आभार व्यक्त गरे।
यसैबीच, ‘हिमालयन गोल्ड’ भारतभर एकसाथ प्रदर्शन हुने अवसर पाउने पहिलो नेपाली चलचित्र बनेको निर्माण पक्षको दाबी छ। चलचित्रलाई भारतभर वितरण गर्ने विषयमा मुम्बईमा एए फिल्म्सका संस्थापक तथा चर्चित वितरक अनिल थडानीसँग औपचारिक सम्झौता भइसकेको छ।
एए फिल्म्सले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफ : च्याप्टर २’ र ‘पुष्पा’जस्ता चर्चित चलचित्र वितरण गरिसकेको छ। कम्पनीले अब नेपाली चलचित्रलाई पनि भारतीय बजारमा विस्तार गर्ने तयारी गरेको हो। संस्थापक थडानीले उत्कृष्ट कथावस्तु भएका चलचित्रलाई भारतीय दर्शकमाझ पुर्याउनु आफ्नो उद्देश्य रहेको बताएका छन्।
चलचित्रका निर्माता तथा वितरक नकिम उद्दिनले ‘हिमालयन गोल्ड’ले अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना बोकेको बताए। भारतमा एए फिल्म्ससँग सम्झौता भइसकेको र जापानलगायत अन्य देशमा पनि चलचित्रप्रति सकारात्मक चासो देखिएको उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको पहुँच विस्तार गर्न यस्ता फरक विषयवस्तु र प्रस्तुतिमा आधारित चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उद्दिनले व्यक्त गरे।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd