logo

२०८३ कार्तिक ८ शनिबार

‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सम्पन्न

‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सम्पन्न

156
SHARES
‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सम्पन्न

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। असोज २ गतेदेखि काभ्रेको धुलिखेलबाट सुरु गरिएको छायांकनको पहिलो सेड्युल पूरा भएको निर्माण पक्षले जनाएको छ।

आफ्नै जीवनमा आधारित चलचित्रको छायांकनका क्रममा मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित थिए। उनले छायांकन भइरहेका दृश्यहरूको अवलोकन गर्नुका साथै आवश्यक सुझावसमेत दिएका थिए।

निर्देशक मिलन चाम्सका अनुसार आफ्नो जीवन पर्दामा उतारिएको देख्दा श्रेष्ठ भावुक भएका थिए। चलचित्रको कामप्रति उनी सन्तुष्ट देखिएको उल्लेख गर्दै चाम्सले कथाका वास्तविक पात्र नै सेटमा उपस्थित हुँदा निर्माण कार्यमा सहजता मिलेको बताए। चलचित्रको दोस्रो चरणको छायांकन दसैंलगत्तै सुरु गरिने उनले जानकारी दिए।

‘म मदनकृष्ण’मा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन्। उनकी श्रीमती यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारीले अभिनय गरिरहेकी छन्। त्यसैगरी, मदनकृष्णका अभिन्न कलाकारिता सहयात्री हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री प्रस्तुत हुनेछन् भने हरिवंशकी श्रीमतीको भूमिकामा वर्षा राउत देखिनेछिन्।

चलचित्रमा मदनकृष्ण श्रेष्ठको जीवनका विभिन्न चरणलाई समेटिनेछ। उनको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य र अन्तरजातीय विवाहसम्मका महत्त्वपूर्ण घटनालाई कथाको हिस्सा बनाइएको छ। व्यक्तिगत जीवनका सुखदुःखसँगै कलाकारिताको यात्रा र जीवनमा आएका आरोह–अवरोहलाई पर्दामा प्रस्तुत गर्ने लक्ष्य निर्माण पक्षको छ।

मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन्। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्।

चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारको पनि अभिनय रहनेछ। बाल कलाकारका रूपमा जेविस र जेविन श्रेष्ठ देखिनेछन्।

प्राविधिक पक्षमा बाबु श्रेष्ठ (पदमबहादुर श्रेष्ठ)ले छायांकनको जिम्मेवारी सम्हालेका छन्। चलचित्रको सम्पादन मिलन श्रेष्ठले गर्नेछन् भने पृष्ठभूमि संगीत अलिश कार्की र साउन्ड डिजाइन भरत कँडेलको रहनेछ।

‘म मदनकृष्ण’ आगामी चैत ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर रोहित कट्टेल तथा रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछन्।

नेपाली कला क्षेत्रमा विशिष्ट योगदान दिएका मदनकृष्ण श्रेष्ठको व्यक्तिगत तथा व्यावसायिक जीवनका महत्त्वपूर्ण पाटालाई समेट्न लागिएको यस बायोपिकले उनको संघर्ष, पारिवारिक सम्बन्ध र हरिवंश आचार्यसँगको ऐतिहासिक सहकार्यलाई नयाँ पुस्ताका दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ।


बुधबार, २८ असोज २०८३
सम्बन्धित समाचार
Go