logo

२०८३ कार्तिक ९ आइतबार

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवनमा नयाँ ट्विस्ट

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवनमा नयाँ ट्विस्ट

117
SHARES
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवनमा नयाँ ट्विस्ट

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरस्थित लबिम मलमा आयोजित विशेष कार्यक्रममार्फत निर्माण पक्षले चलचित्रको ट्रेलर दर्शकमाझ ल्याएको हो ।

सार्वजनिक ट्रेलरले काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र विपिन कार्कीको भूमिकालाई केन्द्रमा राख्दै कथाका नयाँ आयाम प्रस्तुत गरेको छ । यसअघि सार्वजनिक टिजरमा देखाइएको कथालाई थप खुलाउँदै ट्रेलरले कमेडी, एक्सन र अप्रत्याशित घटनाक्रमको मिश्रण देखाएको छ ।

ट्रेलरअनुसार बेरोजगारीबाट आजित भएका काजी, बीके र छन्त्याल मुस्ताङमा ‘शान्ति होटल’ सञ्चालन गर्दै नयाँ व्यवसायमा लाग्छन् । तर, उनीहरूको जीवनमा त्यसपछि थप उतारचढाव आउँछन् । सृजना गुरुङले निर्वाह गरेको नयाँ मैयासँग काजीको विवाह भएको दृश्यले कथामा रोचक मोड ल्याएको छ ।

त्यस्तै, काजीको समूह र गाउँमा प्रवेश गरेको विपिन कार्कीको नेतृत्वमा रहेको रैथाने गुन्डा समूहबीचको टकरावले ट्रेलरमा एक्सन र हास्यरस थपेको छ । ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा यात्रा गरिरहेको दृश्यले उनीहरूको सम्बन्ध र कथाको आगामी घटनाक्रमबारे दर्शकमाझ कौतुहलता बढाएको छ ।

यसअघि सार्वजनिक टिजरले पनि दर्शकमा चलचित्रप्रति उत्सुकता बढाएको थियो । पुरानै कथाको निरन्तरतासँगै काजी र मैयाको जीवनमा आउने परिवर्तन, बीकेको प्रविधिसँगको रमाइलो सम्बन्ध र विपिन कार्कीको प्रभावशाली प्रवेश टिजरका मुख्य आकर्षण थिए । टिजर सार्वजनिक भएपछि दर्शकले खोजी गरेको मिरुना मगर अर्थात् शान्ति मिसलाई पनि ट्रेलरमा देखाइएको छ । उनको उपस्थितिले चलचित्रको कथामा थप रहस्य र ट्विस्ट रहेको संकेत गर्छ ।

काजीको पारिवारिक जीवनमा आउने नयाँ मोड, शान्ति मिसको भूमिकाबारेको जिज्ञासा र विपिन कार्कीको फरक अवतारले ‘कबड्डी ५’ प्रति दर्शकको प्रतीक्षा थप बढाउने अपेक्षा गरिएको छ ।

नेपाली बक्स अफिसमा सफलताको इतिहास बनाएको ‘कबड्डी’ शृङ्खलाका अघिल्ला चारवटै चलचित्रले व्यावसायिक रूपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यही लोकप्रियतालाई निरन्तरता दिने लक्ष्यसहित निर्माण गरिएको पाँचौँ शृङ्खला यस वर्षको बहुप्रतीक्षित चलचित्रमध्ये एक हो । चलचित्र आगामी कात्तिक ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सृजना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता रहेका छन् । सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ । सञ्जय लामाले छायांकन गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

सोमनाथ खनाल र तारानाथ न्यौपाने चलचित्रका मुख्य सहायक निर्देशक हुन् । नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्ने चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलसँग रहेको छ ।


बुधबार, २८ असोज २०८३
सम्बन्धित समाचार
Go