logo

२०८३ साउन ५ मंगलबार

‘सिन्दुरे जात्रा’को छायांकन फेरि लयमा, विजय बरालको चोट निको भएपछि काम तीव्र

‘सिन्दुरे जात्रा’को छायांकन फेरि लयमा, विजय बरालको चोट निको भएपछि काम तीव्र

91
SHARES
‘सिन्दुरे जात्रा’को छायांकन फेरि लयमा, विजय बरालको चोट निको भएपछि काम तीव्र

मुख्य अभिनेता विजय बराल घाइते भएपछि केही समय रोकिएको नेपाली चलचित्र **‘सिन्दुरे जात्रा’**को छायांकन पुनः सुरु भएको छ। घोडाबाट लडेर दाहिने हातको नाडीमा चोट लागेका विजय स्वास्थ्य लाभपछि फेरि सेटमा फर्किएसँगै बाँकी दृश्यहरूको छायांकन तीव्र गतिमा अघि बढाइएको निर्माण टिमले जनाएको छ।



चलचित्रको छायांकन जेठ १ गते पर्वतको कुस्मा नगरपालिका–स्थित आर्थर डाँडाखर्कबाट सुरु गरिएको थियो। करिब १५ दिनको छायांकनपछि विजयको दुर्घटनाका कारण काम रोकिएको थियो। निर्देशक सरोज पौडेलका अनुसार दुई साताअघि पुनः सोही स्थानबाट छायांकन सुरु गरिएको हो।

निर्देशक पौडेलले छायांकन रोकिएको समयलाई पनि सिर्जनात्मक तयारीमा खर्च गरिएको बताए। उनका अनुसार केही समयको अवरोध भए पनि टोली अझ उत्साहका साथ काममा फर्किएको छ र चलचित्रलाई अझ उत्कृष्ट बनाउने तयारी गरिएको छ।

‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल, अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली दोस्रो पटक एउटै परियोजनामा सहकार्य गरिरहेका छन्। यसअघि उनीहरूले व्यावसायिक रूपमा अत्यन्त सफल चलचित्र **‘पूर्णबहादुरको सारङ्गी’**मा सँगै काम गरेका थिए।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा तथा पूर्व मिस नेपाल उषा खड्गीको पनि अभिनय रहनेछ।

निर्देशक सरोज पौडेलको कथामा सबिन अधिकारी र वसन्त न्यौपानेले पटकथा तथा संवाद लेखेका छन्। कार्यकारी निर्माता दिनेश खड्का रहेको चलचित्रमा आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्माताका रूपमा आबद्ध छन्।

पदमबहादुर श्रेष्ठ (बाबु) छायांकन निर्देशक (डीओपी) रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ।


सोमबार, ४ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go