साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ ले घरेलु बक्स अफिसमा लगातार नयाँ कीर्तिमान बनाइरहेको छ। प्रदर्शनको छोटो अवधिमै फिल्मले यस वर्षकै सर्वाधिक एकदिने कमाइ गर्ने तथा पहिलो १० दिनमा सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्रको रेकर्ड आफ्नो नाममा राखिसकेको थियो। अहिले यसले अर्को ठूलो उपलब्धि हासिल गर्दै २०८३ सालमा १० करोड रुपैयाँभन्दा बढी कमाउने पहिलो नेपाली फिल्म बन्न सफल भएको छ।
चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार निर्देशक डा. कपिल रिजाल को यो फिल्मले बुधबार साँझसम्म १० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको देखिएको छ। यससँगै यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा अग्रस्थानमा रहेको ‘लालीबजार’ लाई पनि ‘गौँथली’ ले उछिनेको छ। ‘लालीबजार’ ले करिब ३ लाख १६ हजार टिकट बिक्री गर्दै ९ करोड ३२ लाख रुपैयाँभन्दा बढी व्यापार गरेको थियो।
तेस्रो सातामा प्रवेश गर्न लागेको फिल्मको व्यापारिक गति अझै सशक्त देखिएको छ। दोस्रो सातामा समेत यसले दैनिक ८० लाख रुपैयाँभन्दा बढी कमाइ गरिरहेको छ। विशेषगरी गत शनिबार फिल्मले एकैदिन १ करोड ६५ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको थियो। बोर्डले आगामी सोमबार सार्वजनिक गर्ने विस्तृत बक्स अफिस विवरणसम्म आइपुग्दा फिल्मको कुल व्यापार १३ करोड रुपैयाँ नाघ्ने अनुमान गरिएको छ।
बाल विवाह र त्यसबाट उत्पन्न दाम्पत्य सम्बन्धका जटिलतालाई कथाको केन्द्रमा राखिएको ‘गौँथली’ ले विशेषगरी महिला दर्शकको उल्लेखनीय साथ पाएको छ। हलमा पुग्ने दर्शकमध्ये ठूलो हिस्सा महिलाको रहेको बताइएको छ। सकारात्मक मुखैमुख प्रचार र भावनात्मक कथावस्तुले फिल्मको व्यापार दिनप्रतिदिन उकालो लागिरहेको छ। विश्लेषकहरूले प्रदर्शन अवधिभर फिल्मले १५ देखि १७ करोड रुपैयाँसम्म व्यापार गर्न सक्ने प्रक्षेपण गरेका छन्।
फिल्मको सफलतासँगै मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का को अभिनयको व्यापक चर्चा भइरहेको छ। अरुणले अटिजम भएका ‘ठूले’ पात्रलाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरेका छन्, जसलाई धेरैले उनको करिअरकै उत्कृष्ट अभिनय मानिरहेका छन्। यही फिल्मले उनलाई नेपाली चलचित्र उद्योगको सम्भावनाशील नयाँ स्टारका रूपमा स्थापित गर्ने संकेत देखिएको छ।
स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल को कथामा आधारित ‘गौँथली’ मा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारहरूको पनि अभिनय रहेको छ। करिब तीन दशकअघि निर्माण भएको चर्चित गीति फिल्म ‘गौँथली’ का पात्र र भावनात्मक संसारबाट प्रेरित भएर यो नयाँ संस्करण निर्माण गरिएको हो।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd