‘कबड्डी’को अघिल्लो श्रृंखला ‘कबड्डी ४ : द फाइनल म्याच’सँगै काजी, मैयाँ र सोल्टिनीको कथाले पूर्णविराम पाएको थियो। तर, यही चर्चित पात्र र संसारलाई नयाँ कथासहित अगाडि बढाउँदै ‘कबड्डी’ फेरि पर्दामा फर्किएको छ।
सोमबार सार्वजनिक गरिएको ‘कबड्डी ५’को टिजरले फिल्मको नयाँ कथातर्फ संकेत गरेको छ। अघिल्ला श्रृंखलाजस्तै यसपटक पनि दयाहाङ राईले निर्वाह गरेको काजी पात्र नै कथाको केन्द्रमा रहेको देखिन्छ।
टिजरमा काजीको सिर्जना गुरुङसँग विवाह भइसकेको देखाइएको छ। यसले यसपटक काजीको प्रेमदौड सोल्टिनीका लागि नभई फरक परिस्थितिमा अघि बढ्ने संकेत गर्छ। त्यस्तै, विपिन कार्की र रिश्मा गुरुङको प्रवेशले कथामा नयाँ मोड ल्याउने अनुमान गर्न सकिन्छ।
टिजरको अर्को आकर्षण भने काजी, बिके र छन्त्यालबीचको सम्बन्ध र उनीहरूको रमाइलो केमेस्ट्री हो। यसले ‘कबड्डी’को पुरानै स्वादलाई नयाँ कथासँग जोड्ने प्रयास गरिएको देखाउँछ।
रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार र पञ्च सुब्बा गुरुङलगायत कलाकारको अभिनय छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) हुन्। सागर राज कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
दसैंको अवसर पारेर ‘कबड्डी ५’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd