logo

२०८३ असोज ६ मंगलबार

भवानी राणाको स्वरमा ‘शिव ताण्डव’ सार्वजनिक

भवानी राणाको स्वरमा ‘शिव ताण्डव’ सार्वजनिक

26
SHARES
भवानी राणाको स्वरमा ‘शिव ताण्डव’ सार्वजनिक

भवानी राणाको स्वरमा ‘शिव ताण्डव’ सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)की पूर्वअध्यक्ष भवानी राणाको स्वरमा तयार भएको ‘शिव ताण्डव’ सार्वजनिक गरिएको छ। राणाको प्रस्तुतिमा तयार भएको स्तोत्रमा राणासँगै सरस्वती खत्रीको स्वर रहेको छ भने सुरसुधा सुरेन्द्रले संगीत संयोजन गरेका छन्।

पाटनमा आइतबार साँझ आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले संयुक्त रूपमा ‘शिव ताण्डव’को विमोचन गरे।

विमोचन कार्यक्रममा भवानी राणाले ‘शिव ताण्डव’लाई भगवान् शिवप्रति समर्पित सांगीतिक अर्पणका रूपमा व्याख्या गरिन्। पछिल्लो समय बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नेपाली तथा भारतीय नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विपत्तिमा परेका परिवारप्रति समवेदना पनि प्रकट गरिन्।

राणाले विपत्तिका कारण पीडामा रहेको समयमा ‘शिव ताण्डव’ सार्वजनिक हुनु आफ्ना लागि विशेष अर्थपूर्ण रहेको बताइन्। उनका अनुसार यो सिर्जनालाई आशा, शक्ति र शान्तिको सन्देशका रूपमा दर्शकमाझ पुर्‍याउने उद्देश्य छ।

‘शिव ताण्डव’ साउनमै सार्वजनिक गर्ने तयारी भए पनि विभिन्न कारणले त्यतिबेला सम्भव नभएको र अहिले आएर सार्वजनिक हुनुलाई राणाले संयोगभन्दा पनि विशेष समयका रूपमा लिएकी छन्।

उनले यो सांगीतिक सिर्जनाले नेपाल र भारतबीच रहँदै आएको पुरानो सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने विश्वाससमेत व्यक्त गरिन्।

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले ‘शिव ताण्डव’ले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप नजिक बनाउने बताए। उनले सुरसुधा र सरस्वती खत्रीसँग भारतीय दूतावासको लामो समयदेखिको सहकार्यको स्मरण गर्दै गान्धी जयन्ती तथा लुम्बिनीमा आयोजना हुने नेपाल–भारत सांस्कृतिक कार्यक्रमहरूमा उनीहरूको योगदानको प्रशंसा गरे।

राजदूत श्रीवास्तवले भवानी राणाको व्यावसायिक यात्रासँगै सांस्कृतिक क्षेत्रमा देखिएको सक्रियताको पनि चर्चा गरे। एफएनसीसीआईको नेतृत्व सम्हालिसकेकी राणाले नेपाल–भारत आर्थिक सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको उनको भनाइ थियो।

नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई जोड्दै श्रीवास्तवले काठमाडौं र वाराणसीको सम्बन्धको समेत चर्चा गरे। पशुपतिनाथ र काशी विश्वनाथसँग जोडिएको धार्मिक परम्पराले दुई देशबीचको सांस्कृतिक निकटतालाई प्रतिबिम्बित गर्ने उनले बताए।

‘शिव ताण्डव’को भिडियो विकासाले निर्देशन गरेका हुन्। चक्रबहादुर चन्दले समन्वय गरेको भिडियोको सम्पादन शिलन लम्सालले गरेका छन्। भिडियोमा भवानी राणा र सरस्वती खत्री स्वयं देखिएका छन्।

विमोचन समारोहमा अभिनेत्री श्वेता खड्का, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू उपेन्द्र महतो, रविभक्त श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा ‘शिव ताण्डव’को भिडियोसमेत प्रदर्शन गरिएको थियो।


सोमबार, ५ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go