नेपाली पर्वतारोहणका चर्चित नाम निर्मल पुर्जा ‘निम्स दाइ’को ४२ वर्षको उमेरमा निधन भएको छ । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा पर्ने ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी उनको मृत्यु भएको हो । उनीसँगै नेपाली आरोही पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा, निमा शेर्पा र नवाङ थिन्डु शेर्पाले पनि ज्यान गुमाएका छन् ।
म्याग्दीमा जन्मिएका पुर्जा चितवनमा हुर्किएका थिए । बेलायती सेनामा १६ वर्ष सेवा गरेका उनले ६ वर्ष गोर्खा रेजिमेन्ट तथा १० वर्ष विशेष नौसैनिक फौज ‘स्पेसल बोट सर्भिस’मा बिताएका थिए । सन् २००९ मा एसबिएसमा छनोट हुने पहिलो गोर्खा सैनिक बनेका उनी पछि पर्वतारोहणतर्फ आकर्षित भएका थिए ।
सन् २०१२ मा लोबुचे इस्टबाट आरोहण यात्रा सुरु गरेका निम्सले छोटो समयमै विश्वभर आफ्नो प्रभाव छाड्न सफल भए । सन् २०१६ मा पहिलोपटक सगरमाथा चढेका उनले आरोहणका क्रममा समस्यामा परेका एक आरोहीको उद्धारसमेत गरेका थिए । उनको साहस र योगदानका लागि सन् २०१८ मा बेलायतबाट एमबिई सम्मान प्राप्त भयो ।
सन् २०१९ मा उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै विश्व कीर्तिमान बनाए । ‘प्रोजेक्ट पसिबल’ नाम दिइएको उक्त अभियानले उनलाई अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा थप चर्चित बनायो । सन् २०२१ मा नेपाली टोलीको नेतृत्व गर्दै केटू हिमाललाई पहिलोपटक हिउँदमा सफल आरोहण गराएर उनले अर्को इतिहास रचे ।
ब्रोड पिक जानुअघि निम्सले सामाजिक सञ्जालमार्फत यो आरोहण आफ्नो प्रारम्भिक योजनामा नरहेको बताएका थिए । उनले जी–टू आरोहण गर्ने योजना बनाए पनि ब्रोड पिकसमेत चढेपछि अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दुईपटक आरोहण गर्ने लक्ष्यतर्फ अघि बढ्न सकिने उल्लेख गरेका थिए ।
उनको अन्तिम सन्देशमा जीवनका चुनौतीलाई हिमालसँग तुलना गर्दै कठिनाइसँग नडराई अघि बढ्न प्रेरणा दिइएको थियो । निम्सको निधनले नेपाली मात्र नभई विश्व पर्वतारोहण क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd