logo

२०८३ असोज ६ मंगलबार

बैशाखदेखि साउनसम्म सिने बजार , १७ फिल्म प्रदर्शन : गाैँथली र लालीबजार मात्र सफल

बैशाखदेखि साउनसम्म सिने बजार , १७ फिल्म प्रदर्शन : गाैँथली र लालीबजार मात्र सफल

  • kollywood 1
  • शनिबार, ३० साउन २०८३
533
SHARES
बैशाखदेखि साउनसम्म सिने बजार , १७ फिल्म प्रदर्शन : गाैँथली र लालीबजार मात्र सफल

चालु वर्षको वैशाखदेखि साउन अन्तिमसम्म नेपालमा १७ वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । तर, तीमध्ये ‘गौँथली’ र ‘लालीबजार’ले मात्र बक्सअफिसमा उल्लेख्य सफलता हासिल गरेका छन् ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ले आफ्नो आक्रामक कमाइलाई निरन्तरता दिइरहेको छ । फिल्मले हालसम्म २१ करोड ४४ लाख रुपैयाँको व्यापार गरिसकेको छ । योसँगै ‘गौँथली’ यस वर्षकै सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ भने समग्र नेपाली फिल्मको कमाइमा पनि दोस्रो स्थानमा पुगेको छ ।

त्यस्तै, वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लालीबजार’ले ९ करोड ३२ लाख रुपैयाँको व्यापार गरेको छ । यो फिल्मलाई चालु वर्षको पहिलो हिट नेपाली फिल्मका रूपमा समेत लिइएको छ ।
रोचक पक्ष के छ भने बक्सअफिसमा सफलता हासिल गर्ने यी दुवै फिल्म महिलालाई केन्द्रमा राखेर निर्माण भएका हुन् । स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘लालीबजार’ले वादी समुदायका महिलाको जीवन, उनीहरूले भोग्नुपरेको सामाजिक बाध्यता तथा आमाछोरीबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ ।

गौँथली’को कथा पनि महिला पात्रकै वरिपरि घुमेको छ । सिम्रन खड्काले शीर्ष भूमिका निर्वाह गरेको फिल्ममा पढेर आत्मनिर्भर बन्न चाहने युवती गौँथलीको जीवन संघर्ष देखाइएको छ । परिस्थितिका कारण विवाह गरेर नयाँ घर पुगेपछि उनले आफ्नो श्रीमान् अटिजम भएको थाहा पाउँछिन् । त्यसपछि सुरु हुने उनको संघर्ष नै फिल्मको मुख्य कथा हो ।
यी दुई फिल्मको सफलताले नेपाली फिल्ममा एउटा महत्वपूर्ण बहसलाई फेरि अगाडि ल्याएको छ—फिल्म चलाउन अब पुरुष कलाकारकै मुख्य भूमिका अनिवार्य छैन ।

यसअघि नै अभिनेत्री रेखा थापाले नेपाली सिनेमामा यो परम्परागत भाष्यलाई चुनौती दिइसकेकी छन् । ‘हिम्मतीवाली’, ‘किस्मत’, ‘हिम्मत’, ‘रुद्रप्रिया’, ‘काली’ र ‘रामप्यारी’ लगायतका फिल्ममा उनी मुख्य भूमिकामा देखिइन् । तीमध्ये अधिकांश फिल्मले व्यावसायिक सफलता पनि हासिल गरेका थिए ।
रेखाले परम्परागत रूपमा महिलालाई कमजोर र पुरुषको सहारामा रहने पात्रका रूपमा प्रस्तुत गर्ने शैलीभन्दा फरक भएर एक्सन तथा सशक्त भूमिकालाई पर्दामा स्थापित गरिन् । लामो समयसम्म नेपाली फिल्म उद्योगमा उनको प्रभाव रहनुको एउटा कारण पनि यही मानिन्छ । उनका फिल्ममा प्रायः नयाँ पुरुष कलाकारलाई हिरोका रूपमा प्रस्तुत गरिए पनि कथाको केन्द्र भने रेखाकै पात्र हुने गर्थ्यो ।
त्यसपछि पनि महिला मुख्य भूमिकामा रहेका थुप्रै फिल्म बने । स्वस्तिमा खड्काको ‘बुलबुल’, सुरक्षा पन्तको ‘आमा’, ऋचा शर्माको ‘सुनकेशरी’ तथा सृष्टि श्रेष्ठ अभिनीत ‘द सिक्रेट्स अफ राधा’ जस्ता फिल्मले महिला पात्रलाई केन्द्रमा राखे । यी फिल्मले व्यावसायिकभन्दा बढी समीक्षात्मक प्रशंसा पाएका थिए ।

२०८० मा प्रदर्शनमा आएको ‘बोक्सीको घर’ले भने महिला केन्द्रित फिल्मले व्यावसायिक सफलता पनि हासिल गर्न सक्छ भन्ने बलियो उदाहरण प्रस्तुत गर्‍यो । केकी अधिकारी मुख्य भूमिकामा रहेको उक्त फिल्मले ११ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको थियो । फिल्ममा महिला हिंसा र सामाजिक विभेदको विषय उठाइएको थियो भने ‘बुझिनँ मैले’ गीतसमेत निकै लोकप्रिय बनेको थियो ।
त्यसैगरी ‘बेहुली फ्रम मेघौली’, ‘कोशेढुङ्गा’ र ‘खेल’ लगायतका फिल्ममा पनि महिला पात्रलाई महत्वपूर्ण स्थान दिइएको छ ।

चालु वर्ष ‘गौँथली’ र ‘लालीबजार’सँगै आँचल शर्मा अभिनीत ‘एक मुठ्ठी बादल’ र ‘सेप अफ मोमो’ पनि प्रदर्शनमा आए । यी फिल्मले महिलाका विषयलाई उठाए पनि बक्सअफिसमा भने अपेक्षित सफलता हासिल गर्न सकेनन् ।

महिलाले नेतृत्व गरेका फिल्मले पछिल्लो समय राम्रो व्यापार गर्न थालेकोमा अभिनेत्री रेखा थापा खुसी छिन् । पुरुषको वर्चस्व रहेको नेपाली फिल्म क्षेत्रमा महिलाकेन्द्रित फिल्म सफल हुनु आफूले लामो समयदेखि देखेको सपनासँग जोडिएको उनको भनाइ छ ।

उनका अनुसार महिलालाई सधैँ कमजोर, पीडित वा दयाको पात्रका रूपमा प्रस्तुत गर्नेभन्दा उनीहरूलाई समस्या समाधान गर्न सक्ने सशक्त पात्रका रूपमा प्रस्तुत गर्न आवश्यक छ । ‘गौँथली’ र ‘लालीबजार’को उदाहरण दिँदै उनले दुवै फिल्ममा महिलाका विषय उठाइए पनि प्रस्तुतिको शैली फरक रहेको धारणा राखेकी छन् ।

रेखाले पर्दामा पुरुषले मात्र महिलाको उद्धार गर्ने पुरानो सोच परिवर्तन गर्नुपर्नेमा समेत जोड दिएकी छन् । महिलालाई केवल संरक्षण आवश्यक पर्ने पात्रका रूपमा नभई पुरुषलाई समेत संरक्षण र नेतृत्व दिन सक्ने शक्तिशाली पात्रका रूपमा हेर्नुपर्ने उनको तर्क छ ।

महिला केन्द्रित सिनेमाको प्रभाव नेपाली बक्सअफिसमा मात्रै सीमित छैन । पछिल्लो समय अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि नेपाली महिलाप्रधान कथाले उल्लेख्य उपस्थिति जनाइरहेका छन् ।

मीन भाम निर्देशित ‘शाम्बाला’ र दीपक रौनियारको ‘पूजा, सर’ महिला केन्द्रित कथाका उदाहरण हुन् । ‘शाम्बाला’की अभिनेत्री थिन्ले ल्हामोले स्विट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिभलमा आफ्नो अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् । दक्षिण एसियाली कलाकारले उक्त अवार्ड जितेको यो पहिलोपटक थियो ।
त्यस्तै, अविनाशविक्रम शाह निर्देशित ‘एलिफेन्ट्स इन द फग’ले पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा जुरी प्राइज जित्दै नेपाली सिनेमाको उपस्थिति थप बलियो बनाएको छ । फिल्ममा जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गरिएको छ भने पुष्प थिङ लामा मुख्य भूमिकामा छिन् ।

यसरी घरेलु बक्सअफिसदेखि अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म महिलालाई केन्द्रमा राखिएका नेपाली फिल्मले प्रभाव देखाउन थालेका छन् । ‘गौँथली’ र ‘लालीबजार’को व्यावसायिक सफलताले नेपाली फिल्ममा स्टार हिरोको दबदबाभन्दा बाहिर पनि बलियो कथा र महिला पात्रले दर्शक तान्न सक्ने सम्भावना देखाएको छ ।


शनिबार, ३० साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go