झरना थापा,दिव्यदेव, सुहाना थापा लगायतका कलाकारहरको अभिनय रहेको चलचित्र ‘बा : एक योद्धा’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । आर्टिस्टिक इन्टरटेन्मेन्टले विज्ञप्ति जारी गर्दै भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको रिलिज हाललाई रोकिएको जनाएको हो ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै निर्माण पक्षले देश शोकमा रहेका बेला चलचित्र प्रदर्शन गर्नु उचित नहुने निष्कर्ष निकालेको हो ।
निर्माता वसन्त लम्सालद्वारा जारी विज्ञप्तिमा सिनेमा मनोरञ्जनको माध्यम मात्र नभई मानवीय संवेदनाको संवाहकसमेत भएकाले विपत्तिको समयमा सामाजिक तथा पारिवारिक कथामा आधारित चलचित्र प्रदर्शन गर्न उपयुक्त नदेखिएको उल्लेख गरिएको छ ।
देशको विषम परिस्थिति, जनमानसमा परेको मानसिक असर तथा विपद्मा परेका नागरिकप्रतिको साझा ऐक्यबद्धतालाई सम्मान गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति मंसिर २४ गते बिहीबारका लागि तय गरिएको निर्माण पक्षले जनाएको छ ।
रिलिज मिति परिवर्तन गर्दा दर्शक, वितरक, प्रदर्शक तथा सञ्चारकर्मीमा पर्न गएको असुविधाप्रति निर्माण टोलीले क्षमासमेत मागेको छ ।
यसैबीच, विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि चलचित्र निर्माण परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरिएको निर्माता लम्सालले जानकारी दिएका छन् ।
निर्माण पक्षले राष्ट्र शोकमा रहेको यस कठिन समयमा देश तथा विदेशमा रहेका नेपालीलाई एकजुट भएर राहत तथा उद्धार कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्नसमेत आग्रह गरेको छ ।

© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd