logo

२०८३ असोज ६ मंगलबार

पूजा शर्मा र विजय बराल पहिलोपटक एकसाथ, ‘रत्यौली’को छायांकन सुरु

पूजा शर्मा र विजय बराल पहिलोपटक एकसाथ, ‘रत्यौली’को छायांकन सुरु

221
SHARES
पूजा शर्मा र विजय बराल पहिलोपटक एकसाथ, ‘रत्यौली’को छायांकन सुरु

अभिनेत्री पूजा शर्मा र अभिनेता विजय बराल पहिलोपटक पर्दामा सहकार्य गर्दैछन् । मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘रत्यौली’को छायांकन सुरु भएसँगै पूजा र विजयको नयाँ जोडीबारे चर्चा सुरु भएको हो ।

मंगलबार बिहान काठमाडौंको गौशालास्थित पशुपतिनाथ क्षेत्रमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो । काठमाडौंमा दुई दिन छायांकन गरेपछि निर्माण टोली दोलखाको जिरीतर्फ जानेछ । जिरीमा करिब एक महिना चलचित्रको छायांकन हुने निर्देशक ढकालले जानकारी दिएका छन् ।

नाइटेङ्गल इन्टरटेनमेन्ट र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा पूजा र विजयसँगै लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, सानू पाण्डेय र एभोन राज उप्रेतीलगायत कलाकारको अभिनय रहनेछ ।

नेपाली समाज र संस्कृतिलाई पृष्ठभूमिमा राखेर सम्बन्धको कथा प्रस्तुत गर्ने ‘रत्यौली’मा सुरज आचार्य निर्माता छन् भने पूजा शर्मा प्रस्तुतकर्ता रहेकी छन् । हरि हुमागाँई र उत्तम हुमागाँईले छायांकन सम्हाल्नेछन् । चलचित्रका लागि अर्जुन पोखरेल र सुरेश अधिकारीले संगीत तयार पार्नेछन् ।

महाशिवरात्रिको अवसर पारेर फागुन २१ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्र पूजा शर्माका लागि पनि विशेष छ । लामो समयदेखि निर्देशक सुदर्शन थापासँग सहकार्य गर्दै आएकी पूजाले पहिलोपटक अर्कै निर्देशकसँग सहकार्य गर्दै निर्माणमा हात बढाएकी हुन् ।

‘रावायण’पछि सुदर्शन थापा र पूजा शर्माबीचको सम्बन्धमा आएको तिक्ततापछि उनले निर्देशक मुस्कान ढकालसँग ‘रत्यौली’मा सहकार्य गरेकी हुन् ।

तर, चलचित्रको प्रदर्शन मिति भने थप रोचक बनेको छ । पूजा शर्मा र मुस्कान ढकालको ‘रत्यौली’ र सुदर्शन थापाको नयाँ चलचित्र ‘शुभ विवाह’ एउटै दिन अर्थात् फागुन २१ गते नै दर्शकमाझ आउने तयारीमा छन् ।

यसरी व्यक्तिगत तथा व्यावसायिक सम्बन्धको चर्चा भइरहेका बेला एउटै मितिमा प्रदर्शन हुने दुई चलचित्रमध्ये दर्शकको रोजाइमा कुन पर्छ भन्ने विषयले पनि नेपाली फिल्म क्षेत्रमा चासो बढाएको छ ।


मंगलबार, १६ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go