फिल्म ‘बाः एक योद्धा’ले काठमाडौंमा भन्दा पहिले मोफसलका दर्शकमाझ आफ्नो यात्रा सुरु गरेको छ। सामान्यतया नेपाली चलचित्रको प्रिमियर काठमाडौंमा गरेर अन्य सहरमा प्रदर्शन गर्ने प्रचलन रहे पनि यो चलचित्रले भने फरक शैली अपनाएको हो।
निर्माण पक्षले काठमाडौं बाहिरका चार प्रमुख सहरमा दर्शकमाझ प्रिमियर गरिसकेको छ। नेपालगञ्ज, दाङ, धरान र बुटवलमा गरिएको प्रिमियरपछि चलचित्रले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ।
मोफसलका दर्शकको प्रतिक्रिया लिएपछि अब चलचित्रको काठमाडौं प्रिमियरको तयारी गरिएको छ। असोज ६ गते काठमाडौंमा प्रिमियर गर्ने तयारी निर्माण पक्षको छ।
निर्देशक हरि लम्सालले नेपालगञ्ज, दाङ, धरान र बुटवलका दर्शकबाट अपेक्षा गरेभन्दा राम्रो प्रतिक्रिया प्राप्त भएको बताए। काठमाडौंका दर्शकबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा रहेको उनको भनाइ छ।
निर्माता वसन्त लम्सालका अनुसार प्रिमियरमा चलचित्र हेरेका अधिकांश दर्शकले कथा र कलाकारको अभिनयको प्रशंसा गरेका छन्। विशेषगरी दिव्यदेवको अभिनयलाई उनको करियरकै महत्वपूर्ण मोडका रूपमा दर्शकले टिप्पणी गरेको उनले बताए। सुहाना थापाको भूमिकालाई पनि दर्शकले यसअघिका चलचित्रभन्दा फरक र प्रभावशाली भनेका छन्।
चलचित्रले दर्शकलाई भावनात्मक रूपमा समेत छोएको प्रतिक्रिया प्रिमियरबाट आएको छ। एक युवतीले चलचित्र हेर्दा आफ्ना दिवंगत बुवाको सम्झना आएको बताइन्। उनका अनुसार बुवाले परिवारका लागि गरेको संघर्ष चलचित्रमा देखाइएको कथासँग मिल्दोजुल्दो भएकाले फिल्मले भावुक बनाएको हो।
त्यस्तै, अर्का दर्शकले बुवाको संघर्ष नबुझेका सन्तानले चलचित्र हेर्नुपर्ने प्रतिक्रिया दिए। एक महिला दर्शकले चलचित्रले सन्तानले आफ्ना अभिभावकप्रति जिम्मेवार हुनुपर्ने सन्देश दिएको बताइन्।
बाबु र छोरीबीचको सम्बन्धलाई प्रस्तुत गरिएको पक्षले पनि दर्शकको ध्यान खिचेको छ। विशेषगरी युवती दर्शकले चलचित्रमा प्रस्तुत गरिएको बाबुको चरित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
अडियन्स प्रिमियरमा कलाकार दिव्यदेव, सुहाना थापा, अनिल बुढाथोकी, सुप्रज्ञा शर्मा, निर्देशक हरि लम्साल र निर्माता वसन्त लम्साललगायतको उपस्थिति थियो। बुधबार दाङमा चलचित्रको ग्रान्ड प्रिमियर आयोजना हुँदैछ।
असोज ९ गतेदेखि प्रदर्शनमा आउने ‘बाः एक योद्धा’ले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्। शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। चलचित्रको वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd