निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’को कलाकार सूचीमा अभिनेता सुशील श्रेष्ठ पनि थपिएका छन्। छायांकन सुरु गर्ने तयारीमा रहेको चलचित्रका लागि सुशीललाई महत्वपूर्ण भूमिकामा अनुबन्ध गरिएको निर्माण पक्षले जनाएको छ।
सुशीलसँगै चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठलगायत कलाकार यसअघि नै जोडिइसकेका छन्। निर्माण पक्षका अनुसार चलचित्रमा अनुबन्धित अधिकांश कलाकारको भूमिका कथाका लागि महत्वपूर्ण रहनेछ।
निर्देशक चौधरीका अनुसार सुशीलले चलचित्रमा मुख्य भूमिकामध्ये एक निर्वाह गर्नेछन्। यसअघि विभिन्न शैलीका चलचित्रमा अभिनय गरिसकेका सुशीलका लागि यो चलचित्रको भूमिका फरक र चुनौतीपूर्ण हुने निर्माण पक्षको भनाइ छ।
‘द राइज अफ साम्राज्य’को छायांकनका लागि ७० दिनको तालिका तयार पारिएको छ। चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा हुनेछ। कथाको परिवेशसँग मेल खाने लोकेसन छनोटको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ।
निर्माण पक्षले चलचित्रलाई नेपाली फिल्म उद्योगकै ठूलो स्केलमा बन्न लागेको एक्सन ड्रामाका रूपमा अघि बढाएको छ। निर्देशक चौधरीले यसअघिका आफ्ना चलचित्रभन्दा फराकिलो क्यानभासमा एक्सन, ड्रामा र कथालाई प्रस्तुत गर्ने तयारी गरेका छन्।
चलचित्रको कथा तथा पटकथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन्। साहित्यिक क्षेत्रमा छुट्टै पहिचान बनाएका बुद्धिसागरको लेखनमा चलचित्र बन्न लागेकाले यसको कथावस्तुलाई लिएर पनि दर्शकमाझ चासो बढेको छ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा प्रवेश चौधरी र निला देव निर्माता छन्। विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।
मानकृष्ण महर्जनको छायांकन रहने चलचित्रमा एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन्। ठूलो स्केलमा तयार पारिने भएकाले एक्सन दृश्यलाई चलचित्रको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी निर्माण पक्षको छ।
ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर तथा टौवा स्टुडियो पब्लिसिटी पार्टनरका रूपमा जोडिएका छन् भने वितरणको जिम्मेवारी डिसीएनले लिएको छ।
बलियो कलाकार समूह, बुद्धिसागरको कथा–पटकथा र ठूलो बजेट तथा क्यानभासमा निर्माण गर्ने तयारीका कारण ‘द राइज अफ साम्राज्य’को निर्माण सुरु नहुँदै नेपाली फिल्म वृत्तमा चर्चामा आएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd