logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • आफ्नै जीवन र कल्पनाको समिश्रण सविनको ‘बिहानीको किरण…’

    आफ्नै जीवन र कल्पनाको समिश्रण सविनको ‘बिहानीको किरण…’

    195
    SHARES
    आफ्नै जीवन र कल्पनाको समिश्रण सविनको ‘बिहानीको किरण…’

    गायक सविन श्रेष्ठले ‘बिहानीको किरण…’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द र संगीत छ ।



    गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ । धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ । गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ ।

    बिहानीको किरण…’ सविनप्रतिको आशा र उनको संगीत यात्राको उत्सव पनि हो । प्रेम र साथको सुन्दर भावनालाई समेटेर तयार पारिएको गीतले श्रोतालाई सविनको कथा पनि भन्छ ।

    “संगीतले मलाई नयाँ जीवन दिएको छ । यो गीत मेरो जीवनको त्यही यात्रा हो, जसले मलाई जिन्दगीलाई फेरि प्रेमिल बनाएको छ,” सविन भन्छन्, “केही आफ्नै भोगाइ र केही कल्पनाको समीक्षण गीतमा समेटेको छु ।”

    सविनले गीतको भिडियो पनि तयार पारेका छन् । जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन् । बुद्ध थापाले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । गीत निर्माणमा दिमेश श्रेष्ठलगायतको लगानी छ ।

    यसअघि, सविनले ‘माया…’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीत स्रोता र दर्शकले मन पराएका थिए ।

    सविनलाई सवारी दुर्घटनाले संगीतको बाटो हिँड्न प्रेरित गरेको हो । २०७९ साल माघ २० गते बिहान सविन एक गम्भीर दुर्घटनामा परे । उनी होसमा आउँदा अस्पतालको शैयामा थिए । शरीरभरि असह्य पीडा, आँखा खोल्दा आफन्तहरूको आँसुले भिजेको अनुहार । त्यो दिनबाट सविनको जीवनको पहिलो अध्याय समाप्त भयो । दोस्रो अध्याय सुरु भयो । त्यो दोस्रो अध्याय संगीतको बाटो हो ।

    उनी भन्छन्, “मेरो जीवनको पहिलो २० वर्ष पहिलो अध्यायलाई भएछ । त्यसपछि दोस्रो अध्याय सुरु भयो, जुन संगीत हो ।”

    संगीतलाई साथी बनाएका उनी यसैसँग बाँचिरहेका छन् । संगीतको साधना र त्यसमा गरेको मेहनतलाई दर्शक र स्रोताले कदर गरेपछि उनी अहिले यसमै रमाइरहेका छन् ।

    अहिले उनको अधिकांश समय संगीतको अध्ययन र साधनामा बित्ने गरेको छ । जसले उनलाई आनन्द दिन्छ । गीत र धुनहरूले उनको मनमा हराएको रंग फेरि फिर्ता गरिदिएको छ । दुर्घटनाले केही समय खोसेको खुसी फिर्ता भएको छ ।

    दुर्घटनापछि सविनको संगीत यात्रा नारायणगोपालको ‘गल्ती हजार हुन्छन्…’ गीतबाट सुरु भयो । उनका काकासमेत रहेका दिमेश भन्छन्, “सविनले पहिलो पटक गिटार हातमा लिएर त्यो गीत गाएको क्षण म कहिल्यै बिर्सिन सक्दिनँ । उसको स्वरमा सम्भावना देखेपछि मैले उसलाई गाउन प्रेरित गरेँ ।”

    यो प्रेरणा नै सविनको जीवनको नयाँ गन्तब्य बन्यो । सबिन अहिले त्यही गन्तब्य भेट्ने बाटोमा छन् ।

    सविनका लागि दुर्घटनापछि सुरु भएको दोस्रो अध्याय केवल संगीतको यात्रा मात्र होइन, जिन्दगीप्रतिको नयाँ दृष्टिकोण पनि हो । उनी भन्छन्, “समय रंगीन हुनु र मन खुसी हुनु नै जीवनको रंग हो जसले खुसी दिन्छ ।”


    आइतबार, २१ पुष २०८१
    सम्बन्धित समाचार
    Go