logo

२०८२ मंसिर २० शुक्रबार

logo
  • शुक्रबार, २० मंसिर २०८२
  • “वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२” को घोषणा

    “वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२” को घोषणा

    156
    SHARES
    “वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२” को घोषणा

    चलचित्र विकास बोर्डले “वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२” को घोषणा गरेको छ। नेपाललाई सांस्कृतिक, भाषिक,
    कलात्मक र पर्यटनको दृष्टिले विश्वसामु पहिचान गराउने उद्देश्यका साथ सुरु गरिएको यो प्रतियोगिता चलचित्र क्षेत्रका लागि मात्र
    नभई सॉस्कृतिक तथा पर्यटन का हिसाबले समेत फाईदाजनक हुनेछ ।
    कला, संस्कृति, भाषा, साहित्य, सुशासन प्रवर्द्धन, पर्यटन विकास तथा सामाजिक रूपान्तरण जस्ता महत्वपूर्ण विषयहरूलाई
    चलचित्रमार्फत सशक्त ढंगले प्रस्तुत गर्न सक्षम नेपाली सर्जकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारी स्तरबाट यस्तो प्रतियोगिता
    प्रारम्भ भएको हो। यसअघि लघु चलचित्र प्रतियोगिता भएपनि वृत्तचित्र प्रतियोगिता भने बोर्डको पहिलोपटक हो ।
    चलचित्र विकास बोर्डले जनाए अनुसार, स्वदेशमै सिर्जनात्मक अभ्यास बढाउन, नयाँ पुस्ताका निर्देशक तथा अनुसन्धानमुखी फिल्म
    निर्मातालाई राष्ट्रिय स्तरमा उजागर गर्न तथा चलचित्रलाई ज्ञान, चेतना र अभिव्यक्तिको माध्यमका रूपमा अझ प्रभावकारी बनाउन
    यो प्रतियोगिता ‘Game-Changer’ बन्ने अपेक्षा गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, प्रविधि, सुशासन र सामाजिक
    चेतनामूलक तथा स्वदेश भित्र सकारात्मक सन्देश, सचेतना, जागरण एवं उत्प्रेरणा जगाउने
    विषय केन्द्रित वृत्तचित्र तथा लघु चलचित्र निर्माणलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सुरु गरिएको छ, जसले राष्ट्रिय पहिचान,
    सामाजिक उत्तरदायित्व र सिर्जनात्मक स्वतन्त्रतालाई एकैसाथ बलियो बनाउनेछ।प्रतियोगितामा भाग लिन इच्छुक सर्जकहरूले
    सूचना प्रकाशित भएको मितिबाट ७५ दिनभित्र तोकिएको ढाँचामा आवेदन दर्ता गर्नुपर्नेछ। व्यक्तिको हकमा नेपाली नागरिकताको
    प्रमाणपत्र र स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि र संस्थाको हकमा नेपाली नागरिकताको प्रमाणपत्र चलचित्र निर्माण
    गर्न दिइने इजाजतपत्रको प्रतिलिपि,संस्था दर्ता सम्बन्धी कागजात र सोको नवीकरण वा अघिल्लो आ.व. सम्मको कम्पनी अद्यावधिक
    गरेको प्रमाणपत्रको प्रतिलिपि,स्थायी लेखा नम्बर दर्ता र अघिल्लो आ.व. को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
    प्रतियोगितामा सहभागी हुने वृत्तचित्र तथा लघु चलचित्र राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि प्रतिस्पर्धामा सहभागी भएको हुनु नहुने र
    २K Resolution वा सो सरह प्रविधिमा तयार हुनुपर्ने, कम्तीमा पाँच मिनेट देखि बढीमा साठी मिनेट अवधिभित्र सीमित हुने र
    DCP वा Online Link सहित बुझाउनुपर्ने बोर्डले जनाएको छ।
    बोर्डका अनुसार उत्कृष्ट ठहरिने वृत्तचित्र तथा लघु चलचित्रहरूलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिनेछ, जुन नयाँ र स्थापित
    दुवै सर्जकका लागि उत्साहजनक अवसर बन्नेछ। यस प्रतियोगिताले नेपालभित्र वृत्तचित्र फिल्म निर्माणको परम्परालाई व्यवस्थित,
    व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने मार्ग खोलेको छ। यस प्रतियोगिताले नेपाली चलचित्रलाई मनोरञ्जन मात्र नभई ज्ञान,
    अनुसन्धान र राष्ट्रिय पहिचान निर्माण, चलचित्र पर्यटन तथा पर्यटन प्रवर्द्धन एवं विकासमा महत्त्वपूर्ण आधारशिला तयार गर्नेछ।
    आवेदन फाराम, मञ्जुरीनामा फाराम तथा विस्तृत विवरण सहितको सूचना चलचित्र विकास बोर्डको कार्यालय वा
    www.film.gov.np मार्फत प्राप्त गर्न सकिनेछ। चलचित्र क्षेत्रको दीर्घकालीन विकास, सिर्जनात्मक क्षमताको विस्तार तथा
    अन्तर्राष्ट्रिय पहुँच निर्माणतर्फ चलचित्र विकास बोर्डले चालेको यो कदमलाई चलचित्रकर्मी तथा समीक्षकहरूले अत्यन्त सकारात्मक
    रूपमा स्वागत गरेका छन्। यसले नेपाली वृत्तचित्र तथा लघु चलचित्रलाई नयाँ उचाइमा पुर्‍याउँदै नेपाललाई विश्वसामु सांस्कृतिक
    राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास बोर्डले लिएको छ।


    सोमबार, २ मंसिर २०८२
    सम्बन्धित समाचार
    Go