logo

२०८३ जेष्ठ ३१ आइतबार

logo
  • आइतबार, ३१ जेष्ठ २०८३
  • ‘मेरो आफ्नै संसार’ सार्वजनिक

    ‘मेरो आफ्नै संसार’ सार्वजनिक

    169
    SHARES
    ‘मेरो आफ्नै संसार’ सार्वजनिक

    नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । सर्जक शंकर पाण्डे मुक्तिको प्रस्तुति रहेको उक्त गीत बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

    गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । गीतको शब्द स्वयं मुक्तिले लेख्नुभएको हो भने चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । कीर्तिमानी सङगीतकार सन्तोष श्रेष्ठले सङ्गीत भर्नुभएको गीतमा आधुनिक सङ्गीत र भावनात्मक शब्द संयोजनले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ ।

    सार्वजनिक गीतको भिडियो निर्देशक माधवराज खरेलले तयार गर्नुभएको हो । भिडियोले पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयामलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । भिडियोमा कलाकारहरू दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतको अभिनय छ । साथै बाल कलाकार आयुश पाण्डे, मीरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियो अझ जीवन्त बनेको छ ।
    भिडियोको छायांकन अजय रेग्मीले गर्नुभएको हो भने सम्पादन विनोद बमले गर्नुभएको छ । सरिता मगरको श्रृङ्गारले कलाकारहरूलाई आकर्षक रूपमा प्रस्तुत गरेको छ । भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, अभिनय र कथावस्तुले दर्शकलाई भावुक बनाउने क्षमता राख्ने प्रतिक्रिया कार्यक्रममा सहभागीहरूले दिएका थिए ।

    कार्यक्रममा बोल्दै शङ्कर पाण्डे ‘मुक्ति’ले गीत केवल मनोरञ्जनका लागि मात्र नभई समाजप्रतिको उत्तरदायित्वबोधका साथ तयार गरिएको बताउनुभयो । उहाँले भिडियोबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गर्दै कला र मानवीय सेवाबीचको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको धारणा राख्नुभयो ।

    गीतका बारेमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र निर्देशक माधव खरेलले प्रा. ध्रुव पौडेल लगायतलले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

    कार्यक्रममा उपस्थित अतिथिहरूले गीत तथा भिडियोको प्रशंसा गर्दै यसले नेपाली सङ्गीत क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, नेपाल चलचित्र कलाकार संघका सदस्य तथा अभिनेता श्रीदेव भट्टराई, गीता अधिकारी, श्वस्तीका पन्थी, विश्व देवकोटा, जितेन्द्रकुमार श्रेष्ठ, डोल्पा शेर्पा तथा ओएसआर डिजिटलकाका ओम अग्रवाललगायतको आथिथ्यता रहेको थियो ।

    कार्यक्रमको अन्त्यमा गीत तथा भिडियो निर्माणसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । सामाजिक उत्तरदायित्व, पारिवारिक भावनात्मकता र सांगीतिक मिठासको संयोजन बनेको ‘मेरो आफ्नै सन्सार’ ले नेपाली संगीतप्रेमीमाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ ।


    बिहिबार, १४ जेष्ठ २०८३
    सम्बन्धित समाचार
    Go