मिस्टर सुप्रानेशनल नेपाल २०२६ का विजेता मृदुल आचार्य विश्वकै प्रतिष्ठित पुरुष सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पोल्याण्ड पुगेका छन्। उनी जुलाई २० मा प्रस्थान गरेका हुन् भने प्रतियोगिताको ग्रान्ड फिनाले अगस्ट १ मा पोल्याण्डको मालोपोल्स्का क्षेत्रमा आयोजना हुनेछ।
आफ्नो आत्मविश्वासी व्यक्तित्व, नेतृत्व क्षमता, अनुशासित जीवनशैली र व्यावसायिक दक्षताका कारण चर्चामा रहेका मृदुलले प्रतियोगिताको प्रारम्भिक चरणमै प्रभाव जमाउन सफल भएका छन्। प्रतियोगिताअन्तर्गतको चर्चित ‘सुप्रा च्याट’ चुनौतीमा उनी दोस्रो चरणसम्म पुगिसकेका छन्, जसले उनको अन्तर्राष्ट्रिय सम्भावना थप बलियो बनेको संकेत दिएको छ।
नेपालले पछिल्ला संस्करणहरूमा मिस्टर सुप्रानेशनलमा उल्लेखनीय सफलता हात पारेको इतिहास छ। धिरोज काजी बस्नेत टप–२० मा स्थान बनाउन सफल भएका थिए भने सनीश श्रेष्ठले मिस्टर ट्यालेन्ट उपाधि जितेका थिए। त्यसैगरी, डा. सन्तोष उपाध्यायले प्रतियोगितामा थर्ड रनर–अप बन्दै मिस्टर इन्फ्लुएन्सर को उपाधिसमेत जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेका थिए।
मिस्टर सुप्रानेशनल नेपालका राष्ट्रिय निर्देशक डा. सन्तोष उपाध्यायले मृदुलप्रति पूर्ण विश्वास व्यक्त गर्दै यस वर्ष नेपालले अझ उत्कृष्ट नतिजा ल्याउने अपेक्षा व्यक्त गरेका छन्। उनका अनुसार मृदुलमा विश्वस्तरमा प्रतिस्पर्धा गर्न आवश्यक व्यक्तित्व, बौद्धिक क्षमता, अनुशासन र मेहनत सबै रहेको छ।
आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले मृदुलको सहभागिता व्यक्तिगत उपलब्धिमात्र नभई नेपालको प्रतिष्ठा र पहिचान विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर भएको उल्लेख गर्दै सम्पूर्ण नेपालीलाई उनको यात्रामा शुभकामना र समर्थन गर्न आग्रह गरेको छ।
अब अगस्ट १ मा हुने ग्रान्ड फिनालेमा मृदुल आचार्यले विश्वभरबाट आएका प्रतिस्पर्धीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्नेछन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd