विवाहित तथा एकल महिलाको व्यक्तित्व, क्षमता र नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का लागि आवेदन प्रक्रिया सुरु भएको छ । रिवन इन्टरटेनमेन्ट प्रालिले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गर्दै सहभागिताका लागि इच्छुक महिलालाई आवेदन दिन आग्रह गरेको हो ।
प्रतियोगिताको पहिलो चरणअन्तर्गत अडिसन आगामी २३ साउन मा काठमाडौंमा आयोजना हुनेछ भने भव्य फिनाले १४ कात्तिक मा सम्पन्न गरिने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत विवाहित नेपाली महिलालाई आफ्नो प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता र सामाजिक योगदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर उपलब्ध गराइने विश्वास व्यक्त गरिएको छ ।
अडिसनबाट छनोट भएका प्रतियोगीले करिब ४५ दिनसम्म व्यक्तित्व विकास, सञ्चार सीप, नेतृत्व, सार्वजनिक प्रस्तुति, फिटनेस, र्याम्प वाक तथा सामाजिक उत्तरदायित्वलगायत विषयमा अनुभवी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकबाट विशेष प्रशिक्षण प्राप्त गर्नेछन् ।
यस प्रतियोगितामा न्यूनतम एसईई वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले आवेदन दिन सक्नेछन् । आवेदन रिवन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइट वा निर्धारित आवेदन फाराममार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ ।
प्रतियोगिताबाट मिसेस नेपाल वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस नेपाल कस्मो गरी चारवटा मुख्य उपाधिका विजेता चयन गरिनेछन् । मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेस नेपाल कस्मो विजेताले म्यानमारमा आयोजना हुने मिसेस कस्मो मा सहभागिता जनाउनेछिन् ।
आयोजक संस्था रिवन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झा ले विगतका संस्करणमा नेपाली प्रतियोगीले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै यस वर्ष पनि उत्कृष्ट प्रतिभालाई विश्वसामु प्रस्तुत गर्ने अपेक्षा व्यक्त गरे ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd