निखिल उप्रेतीले निर्देशनमा पुनरागमन गरेको फिल्म ‘आचार्य’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। आगामी इन्द्रजात्राको अवसर पारेर असोज ९ गते (२५ सेप्टेम्बर) देखि प्रदर्शनमा आउने फिल्मको पोस्टरमा निखिललाई केन्द्रमा राखिएको छ।
सार्वजनिक पोस्टरले फिल्म पूर्ण रूपमा एक्सन शैलीमा निर्माण भएको संकेत गर्छ। पोस्टरमा निखिल शर्टलेस लुकमा धोती बाँधेर देखिएका छन्। उनले आँखामा भीआर उपकरण लगाएका छन् भने दायाँ हातमा चील बसेको छ। पिठ्यूँमा अंकित ‘२.०’ र ‘धर्मसंस्थापनार्थाय संभवामि युगे युगे’ लेखिएको ट्याटुले कथामा धर्म, संघर्ष र पुनर्स्थापनाको भाव झल्काएको छ।
निखिल उप्रेती प्रोडक्सन को प्रस्तुतिमा बनेको फिल्ममा निखिलसँग पूर्णिका सिंजापति मुख्य भूमिकामा छन्। कलाकारहरूको सूचीमा प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, निर्मल शर्मा, रक्षा गौतम तथा भारतीय कलाकार दीपराज राणा पनि समावेश छन्।
फिल्मको कथा तथा पटकथा निखिल उप्रेती स्वयंले तयार पारेका हुन्। छायांकन मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामा ले गरेका छन्।
कृष्ण भट्टराई को लगानीमा निर्माण भएको फिल्ममा बन्दे प्रसाद को सम्पादन, शुक्रराज शाह को द्वन्द्व निर्देशन, युग भुसाल को संगीत, राजेन्द्र मोक्तान को रंग संयोजन, कालाचरण को पार्श्व ध्वनि तथा किरण थापा को कोरियोग्राफी रहेको छ।
निर्माण पक्षका अनुसार तीन करोड रुपैयाँभन्दा बढी लगानीमा बनेको ‘आचार्य’ले नेपाली एक्सन फिल्ममा नयाँ शैली र प्रस्तुति स्थापित गर्ने लक्ष्य राखेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd