चलचित्र ‘बाः एक योद्धा’को भावनात्मक शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार गीत सार्वजनिक गर्दै सिनेमाको मूल भाव दर्शकमाझ ल्याएको हो।
‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोल रहेको गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत तथा स्वर रहेको छ। गीतले जीवनमा जति उचाइ हासिल गरे पनि आफ्नो जन्मभूमि, परिवार र विगतलाई कहिल्यै नबिर्सनुपर्ने सन्देश बोकेको छ।
गीतमा रुख र जराको सम्बन्ध, माटो र पानीको महत्व तथा आफ्नै आधारसँगको नाता टुटे अस्तित्व नै संकटमा पर्ने भाव प्रस्तुत गरिएको छ। विशेष गरी जन्मदिने बुवाआमा र हुर्काएको घर–आँगनप्रति कृतज्ञ रहनुपर्ने सन्देशलाई गीतले मार्मिक ढंगले अभिव्यक्त गरेको छ।
सार्वजनिक भिडियोमा दिव्यदेव, सुहाना थापा, झरना थापा लगायतका कलाकार देखिएका छन्। बाल्यकालदेखि सन्तान हुर्काउने यात्रा, उनीहरू पराई घर र परदेशतर्फ लागेपछि बुवाले भोग्ने एक्लोपन र पीडालाई भिडियोमा समेटिएको छ। सिनेमाका विभिन्न दृश्यहरू पनि भिडियोमा समावेश गरिएको छ।
भदौ १९ गते प्रदर्शनमा आउन लागेको ‘बाः एक योद्धा’ ले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर बोक्ने जिम्मेवारीको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
चलचित्रमा माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको पनि अभिनय रहेको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा अनेक कालजयी गीत दिएका लम्सालका लागि यो पहिलो फिचर फिल्म निर्देशन हो। उनले कथासँगै पटकथा पनि स्वयं लेखेका हुन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ.
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd