अभिनेत्री तथा नृत्यांगना मिथिला शर्माले आफ्ना कला गुरुहरूको स्मृतिमा स्थापना गरेको सम्मान यस वर्ष विभिन्न विधाका कलाकार र स्रष्टालाई प्रदान गरिएको छ । गुरु पूर्णिमाको अवसरमा आयोजित विशेष समारोहमा हास्य, संगीत, नृत्य, साहित्य तथा कला क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रम बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की रहेका थिए ।
समारोहमा हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई ‘हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान २०८३’ प्रदान गरिएको थियो । गायक तथा संगीतकार डा. किरण प्रधान ‘गोपाल योञ्जन संगीत साधना सम्मान २०८३’ बाट सम्मानित भए ।
यसैगरी नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीले ‘राजपाल थापा नृत्य साधना सम्मान २०८३’ प्राप्त गरिन् भने साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापा ‘चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३’ बाट सम्मानित भए ।
अभिनेता तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई ‘नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३’ प्रदान गरिएको आयोजकले जनाएको छ । यो सम्मान पहिलोपटक प्रदान गरिएको बताइएको छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको कला यात्रा र योगदान झल्काउने भिडियो सामग्री पनि प्रदर्शन गरिएको थियो । ती भिडियोमा उनीहरूको कलात्मक यात्रामा जीवनसाथीले दिएको साथ र सहयोगलाई विशेष रूपमा स्मरण गरिएको थियो ।
सम्मान ग्रहण गर्ने स्रष्टाका जीवनसाथीलाई समेत मञ्चमा आमन्त्रण गरी सम्मान गरिएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अन्य पूर्व प्रहरी महानिरीक्षक तथा वरिष्ठ कलाकारहरूले संयुक्त रूपमा सम्मान हस्तान्तरण गरेका थिए ।
समारोहमा कला, संस्कृति तथा नेपाल पूर्व प्रहरी कलाकार संघको गतिविधिमा योगदान पुर्याउने अन्य व्यक्तित्वलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
संघकी वरिष्ठ सल्लाहकार मिथिला शर्माले आफ्ना गुरुहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरिएको बताइन् । उनका अनुसार चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको योगदानलाई स्मरण गर्दै गुरु दक्षिणाका रूपमा सम्मानको सुरुआत गरिएको हो ।
कार्यक्रममा संघका संस्थापक छत्रबहादुर गुरुङले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा संघ निरन्तर सक्रिय रहेको बताए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अवकाशप्राप्त प्रहरी कर्मचारीलाई पनि प्रहरी परिवारसँग निरन्तर जोडिराख्न यस्ता सांस्कृतिक कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे ।
समारोहमा पूर्व तथा वर्तमान नेपाल प्रहरीसँग सम्बन्धित कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुति दिएका थिए । कार्यक्रममा मिथिला शर्माले सरप्राइज प्रस्तुति दिँदै आकर्षक नृत्य प्रस्तुत गरेपछि समारोह थप रौनकपूर्ण बनेको थियो ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd