logo

२०८३ भाद्र २८ आइतबार

माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

494
SHARES
माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

प्रेमकथामा आधारित चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ । भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माण पक्षले शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत गीत दर्शकमाझ ल्याएको हो ।

सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने उनले स्वयं विज्ञानी पराजुलीसँग मिलेर स्वर दिएका छन् । गीतले पहिलो भेटमै सुरु हुने आकर्षण, प्रेमको अनुभूति र त्यससँग जोडिने जीवनका कल्पनालाई प्रस्तुत गरेको छ ।

गीतको भाव युवा मनोविज्ञानमा केन्द्रित छ । सुन्दर युवतीलाई देखेपछि युवकको मनमा उठ्ने भावना, उसले बुन्ने सपनाहरू र प्रेमप्रतिको आकर्षणलाई गीतले चित्रण गरेको छ । भिडियोमा एक युवक र तीन युवतीबीचको सम्बन्धलाई देखाउँदै त्रिकोणात्मक मात्र नभई बहुआयामिक प्रेमको संकेत गरिएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको आकर्षक प्रस्तुति देख्न सकिन्छ ।

चलचित्रलाई अभिनेत्री तथा निर्मात्री रेखा थापाले निर्देशन गरेकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय चलचित्र हो ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठसहित दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा रहेका छन् । साथै लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।

ध्रुव लम्सालले लेखेको स्क्रिप्टमा आधारित चलचित्रले प्रेम कथामार्फत सामाजिक सम्बन्ध, भावना र मानवीय संवेदनालाई प्रस्तुत गर्ने निर्माण टिमको दाबी छ ।

चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन् । सुदीप बरालले छायांकन गरेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशकको रूपमा रहेका छन् । संगीत प्रशान्त शिवाकोटी, ड्रेस डिजाइन सुजेनी मल्ल, मेकअप प्रिया कार्की र प्रोडक्सन व्यवस्थापन सुमन तिवारीले सम्हालेका छन् ।

देशव्यापी प्रदर्शनका लागि चलचित्रको वितरण अधिकार रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् । निर्माण पक्षका अनुसार चलचित्र प्रेम, सम्बन्ध र सामाजिक संवेदनाको संयोजनसहित दर्शकमाझ प्रस्तुत हुनेछ।


शनिबार, १६ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go