logo

२०८३ साउन २७ बुधबार

तीजमा नयाँ प्रयोग : अविरल थापाको ‘दिक्क लाईसक्यो’ सार्वजनिक

तीजमा नयाँ प्रयोग : अविरल थापाको ‘दिक्क लाईसक्यो’ सार्वजनिक

611
SHARES
तीजमा नयाँ प्रयोग : अविरल थापाको ‘दिक्क लाईसक्यो’ सार्वजनिक

चलचित्र ‘बुलबुल’ र ‘भूटान’का निर्माता तथा गीतकार अविरल थापाले हरितालिका तीजको अवसर पारेर नयाँ गीत ‘दिक्क लाईसक्यो’ सार्वजनिक गरेका छन्। परम्परागत तीज गीतभन्दा फरक स्वाद बोकेको यो गीतले आधुनिक महिलाको दैनिक भोगाइलाई व्यङ्ग्यात्मक र मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ।



गीतको मुख्य आकर्षण यसको भिडियो निर्माण शैली बनेको छ। भिडियोमा ‘एज रिभर्सड कास्टिङ’ प्रयोग गरिएको छ, जहाँ विवाहित महिलाको भूमिकामा साना बालिकालाई प्रस्तुत गरिएको छ। नेपा डान्स एकेडेमीका १६ जना बालिकाले वयस्क महिलाको भेषमा गरेको अभिनय र नृत्यले भिडियोमा नयाँपन थपेको छ।

भिडियोको निर्देशन हाल निर्माणाधीन चलचित्र ‘जुबा’की लेखक वर्षा पौडेलले गरेकी हुन्। रोहिया महर्जनको कोरियोग्राफी रहेको भिडियोले गीतलाई थप जीवन्त बनाएको निर्माण टिमले जनाएको छ।

गीतका शब्दले विभिन्न पेशामा रहेका श्रीमानका कारण श्रीमतीले भोग्ने समस्या, एक्लोपन र मानसिक दबाबलाई हास्य र व्यङ्ग्यको माध्यमबाट उजागर गरेका छन्। जग्गा व्यवसायी, डाक्टर, पत्रकार, पसले, वैदेशिक रोजगारीमा रहेका व्यक्ति, शेयर कारोबारी, सरकारी कर्मचारी, सेना तथा फिल्मकर्मी श्रीमानसँग सम्बन्धित प्रसंग गीतमा समेटिएका छन्।

गीतकार अविरल थापाका अनुसार बजारमा आइरहेका एउटै ढाँचाका रोदनप्रधान तीज गीतभन्दा फरक विषयवस्तु प्रस्तुत गर्ने उद्देश्यले यो गीत तयार गरिएको हो। बदलिँदो समयका महिलाको वास्तविक अनुभवलाई रमाइलो शैलीमा देखाउने प्रयास गरिएको उनले बताएका छन्।

गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता विकको स्वर रहेको छ भने किरण भुसालको संगीत रहेको छ।

अविरल थापा निर्माता मात्र होइन, चर्चित गीतकारका रूपमा पनि परिचित छन्। चलचित्र ‘साँघुरो’का गीतमार्फत प्रशंसा पाएका उनका ‘ठक्कर’ बोलको गीत गत वर्ष कान्तिपुर म्युजिक अवार्डको उत्कृष्ट पाँचमा समेत परेको थियो।

तीज गीत सार्वजनिकसँगै थापा नयाँ चलचित्र निर्माणको तयारीमा पनि सक्रिय भएका छन्। केही समयअघि उनले नयाँ चलचित्रका लागि नायिकाको खोजी गर्दै अडिसन आह्वान गरेका थिए।

देवाश्री फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘दिक्क लाईसक्यो’ले समसामयिक विषय, फरक प्रस्तुति र हास्यव्यङ्ग्य मिश्रित शैलीका कारण दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।


शनिबार, १६ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go