अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता र दीर्घकालीन स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्।
शाही युवा शक्ति नेपालद्वारा आयोजित ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ अन्तर्गत भएको सामूहिक हस्ताक्षर कार्यक्रममा बोल्दै उनले संवैधानिक राजसंस्थाबारेको आफ्नो बुझाइ बीपी कोइरालाका विचारबाट प्रभावित भएको बताइन्।
उनले भनिन्, ‘संवैधानिक राजसंस्था चाहिन्छ भन्ने कुरा मैले बीपी बाबाबाट सिकेकी हुँ। उहाँले समयसँगै नेपालको भूगोल, राजनीतिक अवस्था र भविष्यलाई मूल्याङ्कन गर्दै राजसंस्थाको आवश्यकता महसुस गर्नुभएको थियो।’
मनिषाका अनुसार बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिले राजसंस्था र प्रजातन्त्रलाई एकअर्काको विरोधी नभई लोकतान्त्रिक संरचनाका पूरक तत्वका रूपमा व्याख्या गरेको थियो।
उनले बीपीको भनाइ उद्धृत गर्दै ‘राजा र मेरो घाँटी एउटै दरबारको मियाँमा छ’ भन्ने अभिव्यक्तिले राजसंस्था लोकतन्त्रको प्रतीक भएको सन्देश दिने बताइन्।
कोइरालाले गणतन्त्र र बहुदलीय व्यवस्थापछि अपेक्षित समृद्धि र बलियो राष्ट्र निर्माण हुन नसकेको टिप्पणी गर्दै विदेशी अवधारणाको अन्धानुकरणले देशलाई अपेक्षित लाभ नदिएको धारणा राखिन्।
मनिषा कोइरालाले विगत केही वर्षदेखि राजतन्त्र र सनातन हिन्दु धर्मको पक्षमा सार्वजनिक रूपमा आफ्नो विचार व्यक्त गर्दै आएकी छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd