चलचित्र ‘गौँथली’ले प्रदर्शनको १७ औँ दिनमा पनि बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ। देशभरका अधिकांश हलमा आइतबारका शो हाउसफूल भएका छन्। दिउँसोका धेरै शो बिहानै भरिएका थिए भने रातिका शोहरू पनि दिउँसैदेखि भरिन थालेका थिए।
अग्रिम बुकिङमार्फत अधिकांश टिकट बिक्री भएपछि डोर सेलमा टिकट पाउन दर्शकलाई निकै कठिन भयो। हलमा पुगेर टिकट काट्ने आशामा आएका धेरै दर्शक टिकट नपाएर फर्किन बाध्य भएका थिए। वितरक करण श्रेष्ठका अनुसार एउटा हलमा टिकट नपाएपछि अर्को हलमा गएर पनि ‘गौँथली’ हेर्न नसक्ने अवस्था देखिएको थियो।
उनका अनुसार चलचित्रप्रतिको दर्शक चाप यति धेरै थियो कि टिकट नपाएका केही दर्शकले अन्य चलचित्र रोजेका थिए। सामान्यतया बलिउडका ठूला चलचित्र प्रदर्शन हुँदा नेपाली चलचित्रले ओभरफ्लो दर्शक पाउने चर्चा हुने गरे पनि यसपटक भने ‘गौँथली’कै दर्शक अन्य चलचित्रतर्फ गएको उनले बताए।
निर्देशक डा. कपिल रिजालले आइतबारका अधिकांश शो ‘फिलिङ फास्ट’ अवस्थामा पुगेको जानकारी दिए। उनका अनुसार ‘गौँथली’ प्रायः डोर सेलमा राम्रो टिकट बिक्री हुने चलचित्र भए पनि यसपटक अग्रिम बुकिङमै टिकट सकिन थालेपछि धेरै दर्शक निराश भएका छन्। उनले दर्शकसँग क्षमायाचना गर्दै सहज समय र स्थान मिलाएर पुनः चलचित्र हेर्न आग्रह गरेका छन्।
साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ले तेस्रो आइतबारसम्म देशभरबाट १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कमाइ गरेको छ। हालसम्म चलचित्रका ४ लाख ९४ हजार ९ सय १५ टिकट बिक्री भइसकेका छन्।
यससँगै ‘गौँथली’ यस वर्ष प्रदर्शन भएका नेपाली चलचित्रमध्ये सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ।
डा. कपिल रिजाल निर्देशित चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd