वरिष्ठ हास्यकलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बन्न लागेको बायोपिक ‘म मदनकृष्ण’ ले अर्को महत्वपूर्ण पात्रको कलाकार सार्वजनिक गरेको छ। निर्माण पक्षले लामो समयदेखि चर्चा भइरहेको प्रश्नको उत्तर दिँदै हरिवंश आचार्यको भूमिकामा अभिनेता अरुण क्षेत्रीलाई अनुबन्ध गरिएको जानकारी दिएको हो।
मदनकृष्ण र हरिवंश नेपाली हास्यजगतको अविस्मरणीय जोडी हुन्। वास्तविक जीवनमा मदनकृष्णका सहयात्री रहेका हरिवंशलाई अब चलचित्रमा अरुण क्षेत्रीले प्रस्तुत गर्नेछन्। हाल प्रदर्शनरत ब्लकबस्टर फिल्म ‘गौँथली’ बाट चर्चामा रहेका अरुणले यो प्रोजेक्टसँगै निर्माण टिमको अर्को महत्वाकांक्षी योजना हरिवंश आचार्यको छुट्टै बायोपिक मा पनि अभिनय गर्ने गरी सम्झौता गरेका छन्।
निर्देशक मिलन चाम्स का अनुसार हरिवंशको भूमिकाका लागि सशक्त अभिनय क्षमता भएका कलाकारको खोजी गर्ने क्रममा अरुण क्षेत्री उपयुक्त ठहरिएका हुन्। उनले दर्शकले अरुणलाई हरिवंशको भूमिकामा मन पराउने विश्वास व्यक्त गरेका छन्।
केही दिनअघि मात्रै औपचारिक घोषणा गरिएको ‘म मदनकृष्ण’ ले मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि सरकारी सेवामा बिताएको समय, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह, संघर्ष र सफलतासम्मका विविध आयाम समेट्नेछ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिनेछन् भने केकी अधिकारीले उनकी पत्नी यशोदाको भूमिका निर्वाह गर्नेछिन्। साथै राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाल को पनि अभिनय रहनेछ।
यो बायोपिकलाई मिलन चाम्सले निर्देशन गर्ने भएका हुन्। उनले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित ‘अञ्जिला’ निर्माण गरेका थिए।
भिन्टेज मोसन पिक्चर्स को प्रस्तुति रहने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। निर्माण पक्षका अनुसार फिल्मको डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ले कीर्तिमानी मूल्यमा खरिद गरेको छ। चलचित्रको छायांकन भदौ दोस्रो साताबाट सुरु गरिनेछ भने रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd