logo

२०८३ भाद्र ३० मंगलबार

‘द राइज अफ साम्राज्य’ निर्माण गर्ने तयारी

‘द राइज अफ साम्राज्य’ निर्माण गर्ने तयारी

234
SHARES
‘द राइज अफ साम्राज्य’ निर्माण गर्ने तयारी

निर्देशक सौरभ चौधरीले नयाँ महत्त्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’ निर्माण गर्ने तयारी गरेका छन् । ‘अगस्त्यः च्याप्टर १’बाट निर्देशनमा प्रभाव जमाएका चौधरीले यसपटक मुख्य भूमिकाका लागि अभिनेता सौगात मल्ललाई अनुबन्ध गरेका हुन् ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो चलचित्रलाई यस वर्षको ठूलो नेपाली प्रोजेक्टका रूपमा हेरिएको छ । केही दिनअघि सार्वजनिक गरिएको थिम पोस्टरमार्फत चलचित्रको औपचारिक घोषणा गरिएको थियो । पोस्टर सार्वजनिक भएको छोटो समयमै निर्माण पक्षले सौगात मल्ललाई प्रमुख कलाकारका रूपमा प्रस्तुत गरेको हो ।

सौरभ र सौगातको सहकार्य यसअघि अगस्त्यः च्याप्टर १’मा भइसकेको थियो । उक्त चलचित्रमा सौगातको अभिनयले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । अब दोस्रो पटक उनीहरू फेरि एउटै परियोजनामा जोडिएका छन् ।

निर्देशक चौधरीका अनुसार यो कथाले अत्यन्त बलियो अभिनय क्षमता भएको कलाकार मागेको थियो, त्यसैले पहिलो रोजाइ सौगात मल्ल बनेका हुन् । अन्य कलाकारको छनोट प्रक्रिया पनि जारी रहेको उनले बताएका छन् ।

चलचित्रमा सौगातले निकै फरक र चुनौतीपूर्ण चरित्र निर्वाह गर्नेछन् । कथामा उनी २५ वर्षको युवकदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा प्रस्तुत गर्ने भूमिकामा देखिनेछन् । एउटै फिल्ममा यति ठूलो उमेर अन्तर समेटिएको पात्र नेपाली सिनेमाका लागि रोचक प्रयोग मानिएको छ ।

यस चलचित्रको कथा तथा पटकथा चर्चित लेखक बुद्धिसागरले तयार पारेका हुन् । सार्वजनिक पोस्टरमा देखिएको आगो, घोडामा सवार पात्र र ऐतिहासिक वातावरणले फिल्म भव्य ऐतिहासिक एक्सन ड्रामा हुने संकेत दिएको छ ।

निर्माण पक्षले यसलाई ठूलो स्केलको नेपाली एक्सन चलचित्र बनाउने तयारी गरेको जनाएको छ । निर्देशक चौधरीले यसपटक आफ्नो अघिल्लो कामभन्दा अझ विस्तृत क्यानभासमा फिल्म प्रस्तुत गर्ने लक्ष्य राखेका छन् ।

चलचित्रको छायांकन आगामी भदौको पहिलो सातादेखि सुरु हुने तय भएको छ । करिब ७० दिनको छायांकन तालिका बनाइएको छ, जसको अधिकांश भाग पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ ।

फिल्मका निर्माता प्रवेश चौधरीनिला देव हुन् । विश्वास बस्नेत (बेन) सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन् ।

 


शुक्रबार, २२ साउन २०८३
सम्बन्धित समाचार
Go