सगरमाथाको फेदीदेखि चुचुरोसम्मको कठिन र रोमाञ्चक आरोहण यात्रा प्रस्तुत गर्ने वृत्तचित्र ‘रोड टु एभरेस्ट’को पहिलो पोस्टर र आधिकारिक टिजर सार्वजनिक गरिएको छ। उमेरको पाँच दशक पार गरिसकेका एक व्यक्तिले आफ्नो शारीरिक सीमिततालाई चुनौती दिँदै सगरमाथा चढ्ने सपनाको पछ्याएको प्रेरणादायी कथालाई यस वृत्तचित्रले केन्द्रमा राखेको छ।
करीब ५० मिनेट अवधिको यो डकुमेन्ट्रीले हिमालको दृश्य सौन्दर्य मात्र होइन, आरोहणका क्रममा सामना गर्नुपर्ने प्राणघातक जोखिम, शेर्पा समुदायको अथक योगदान तथा जलवायु परिवर्तनले हिमाली वातावरणमा पारेको असरलाई पनि संवेदनशील ढंगले चित्रण गरेको छ।
निर्माण टिमका अनुसार यस परियोजनामा शतप्रतिशत नेपाली प्राविधिक टोलीको सहभागिता रहेको छ र कुनै पनि कृत्रिम दृश्य प्रयोग गरिएको छैन। समुद्री सतहबाट सुरु भएर सगरमाथाको चुचुरोसम्मको वास्तविक यात्रा समेट्ने शैलीका कारण यसलाई सगरमाथासम्बन्धी फरक प्रकृतिको वृत्तचित्रका रूपमा प्रस्तुत गरिएको छ।
**‘वि विल राईज फाउण्डेसन’**द्वारा निर्माण गरिएको यस वृत्तचित्रका निर्देशक निर्मल श्रेष्ठ हुन्। करिब दुई वर्ष लामो अनुसन्धान र छायांकनपछि तयार भएको परियोजनाको कथा निर्देशक श्रेष्ठ र सञ्चारकर्मी सन्तोष आचार्यले संयुक्त रूपमा लेखेका हुन्। वृत्तचित्रमा वरिष्ठ सञ्चारकर्मी भुषण दाहालको आवाजले विशेष प्रभाव थपेको छ।
यसमा १८ पटक सगरमाथा आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा तथा विश्वका १४ वटै अग्ला हिमशिखर आरोहणसँगै १० पटक सगरमाथा चढेका निमा ग्याल्जेन शेर्पाको संघर्षपूर्ण अनुभवलाई पनि समेटिएको छ। साथै विनोद गुरुङ, सुरज गुरुङ र निर्देशक निर्मल श्रेष्ठ स्वयं पनि यात्राका महत्त्वपूर्ण पात्रका रूपमा देखिएका छन्।
नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिएको ‘रोड टु एभरेस्ट’ले नेपालको हिमाली पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यसको नेपाल प्रिमियर आगामी भदौ ६ गते (२२ अगस्ट २०२६) काठमाडौंमा आयोजना गरिनेछ भने भदौ २८ गते (१३ सेप्टेम्बर २०२६) हङकङमा अन्तर्राष्ट्रिय प्रिमियर तय गरिएको छ।
त्यसपछि वृत्तचित्रलाई नेपाल तथा विदेशका विभिन्न सिनेमा हल र अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रदर्शन गर्ने योजना निर्माण पक्षले बनाएको छ।
सार्वजनिक पोस्टर र टिजरले हिमाल यात्राको जोखिम, भावनात्मक संघर्ष र मानव साहसको शक्तिशाली झलक प्रस्तुत गर्दै दर्शकमा उत्सुकता बढाएको छ। सगरमाथालाई केवल संसारको सर्वोच्च शिखर नभई साहस, अठोट र मानवीय सम्भावनाको प्रतीकका रूपमा प्रस्तुत गर्नु नै वृत्तचित्रको मुख्य उद्देश्य रहेको बताइएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd