logo

२०८३ भाद्र २९ सोमबार

‘बा : एक योद्धाको ‘नभन्नू कोइसित’ सार्वजनिक

‘बा : एक योद्धाको ‘नभन्नू कोइसित’ सार्वजनिक

195
SHARES
‘बा : एक योद्धाको ‘नभन्नू कोइसित’ सार्वजनिक

लोकलयको स्वाद बोकेको नयाँ गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गर्दै चलचित्र ‘बा : एक योद्धा’ले दर्शकमाझ आफ्नो सांगीतिक पक्ष थप उजागर गरेको छ । निर्माण टिमले शुक्रबार गीतको भिडियो सार्वजनिक गरेको हो ।

हरि लम्सालको शब्द र संगीत रहेको गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर सुन्न सकिन्छ । मौलिक नेपाली पञ्चेबाजाको धुनमा तयार गरिएको गीतले विवाह, मेला र पारिवारिक उत्सवको ग्रामीण वातावरणलाई जीवन्त बनाएको छ ।

भिडियोमा एक युवकले सुन्दर युवतीलाई जीवनसाथी बन्न प्रस्ताव राखेको देखाइएको छ । तर युवतीले आफ्ना बुवाआमाले रोजेको केटासँग मात्र विवाह गर्ने अडान लिन्छिन् । सरकारी जागिरको लोभ देखाएर मनाउन खोज्दा पनि घमण्डी स्वभावको व्यक्तिसँग विवाह गर्न नसक्ने युवतीको स्पष्ट जवाफसँगै गीत रोचक ढंगले टुंगिन्छ ।

डान्सिङ शैलीमा तयार गरिएको भिडियोमा केकी अधिकारी र करण साहले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । पञ्चेबाजाको लयसँग उनीहरूको प्रस्तुति मेल खाँदा भिडियो अझ रमाइलो बनेको छ ।

यसअघि सार्वजनिक भएको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ ले राम्रो प्रतिक्रिया पाएको थियो । त्यही सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले अर्को लोकलयको गीत दर्शकमाझ ल्याएको हो ।

भदौ १९ गते प्रदर्शनमा आउन लागेको ‘बा : एक योद्धा’ ले नेपाली परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने पीडालाई मुख्य कथावस्तु बनाएको छ ।

चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ ।

संगीतकार हरि लम्सालकै लेखन तथा निर्देशनमा बनेको यो चलचित्र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो । नेपाली संगीत क्षेत्रमा थुप्रै चर्चित गीत दिएका लम्सालका लागि यो पहिलो फिचर फिल्म निर्देशन हो ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा र पटकथा पनि लम्सालले नै तयार पारेका हुन् । वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माताको रूपमा रहेका छन् ।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । ‘बा : एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।


शुक्रबार, २२ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go