बहुप्रतिक्षित नेपाली चलचित्र ‘महाराजधिराज’ का अभिनेता पुष्प खड्काको नयाँ लुक सार्वजनिक गरिएको छ। सार्वजनिक तस्बिरमा उनी सिक्स प्याक बडीसहित देखिएका छन्, जसले चलचित्रप्रति दर्शकको चासो अझ बढाएको छ।
चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत उक्त तस्बिर सार्वजनिक गर्दै पुष्पले यो भूमिकाका लागि निकै कठोर मेहनत गरेको बताएका छन्। उनका अनुसार अभिनेता खड्काले शरीर निर्माणका लागि लामो समयसम्म अनुशासित अभ्यास र समर्पण गरेका हुन्।
विराजले कलाकारितामा सफलता प्राप्त गर्न त्याग, तपस्या र संघर्ष अनिवार्य हुने उल्लेख गर्दै पुष्पको मेहनतलाई उदाहरणीय बताएका छन्। उनले ‘महाराजधिराज’ प्रदर्शनपछि पुष्प नेपाली चलचित्र उद्योगमा दीर्घकालीन रूपमा स्थापित हुने दाबीसमेत गरेका छन्।
यसअघि चलचित्रमा अनुबन्ध हुँदा पुष्पले रगतको औँठाछाप लगाएर सम्झौता गरेको घटना पनि निकै चर्चामा आएको थियो। त्यसयता उनी यो परियोजनासँग विशेष रूपमा जोडिएका छन्।
‘महाराजधिराज’को छायांकन हाल काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ। चलचित्रको पहिलो चरण सुनसरीको श्रीलंका टापुबाट सुरु गरिएको थियो भने भक्तपुरमा पनि छायांकन सम्पन्न भइसकेको निर्माण टिमले जनाएको छ। करिब ७० दिनको छायांकन तालिका तय गरिएको छ।
निर्देशक परिच्छेद सेनले यसलाई सामाजिक परिवेशसँग जोडिएको पिरियड ड्रामा बताएका छन्। चलचित्रको छायांकन नवराज थापाले गरिरहेका छन् भने कथा तथा पटकथा स्वयं निर्देशक सेनकै रहेको छ।
चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी. र गजित विष्ट लगायत कलाकारको अभिनय रहनेछ।
त्यसैगरी नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा लगायतका कलाकार पनि चलचित्रमा देखिने भएका छन्।
निर्माण पक्षका अनुसार करिब ८० जना कलाकार सहभागी रहेको यो चलचित्र छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको हो। चलचित्रका निर्माता रवि खड्का र टोपेन्द्र विष्ट हुन्।
भव्य कलाकार टोली, पिरियड शैलीको कथा र पुष्प खड्काको चर्चित शारीरिक रूपान्तरणका कारण ‘महाराजधिराज’ अहिले नेपाली चलचित्र बजारमा विशेष चर्चाको केन्द्र बनेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd