निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ नेपाली चलचित्र *चिरञ्जीवी भवः’को छायांकन सम्पन्न भएको छ। करिब ५१ दिनको छायांकन तालिका पूरा गर्दै निर्माण टिमले चलचित्रको सुटिङ सकिएको जानकारी दिएको हो।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रको छायांकन जेठ १५ गतेदेखि सुरु गरिएको थियो। चलचित्रका दृश्यहरू धनकुटा, सुनसरी र काठमाडौंमा खिचिएका छन्।
गत वर्ष प्रदर्शन भएको निर्देशक आचार्यकै चलचित्र ‘परान’ले नेपाली बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो। त्यसैले ‘चिरञ्जीवी भवः’लाई लिएर दर्शकमाझ उत्सुकता बढेको देखिन्छ।
छायांकन सम्पन्न भएपछि निर्देशक आचार्यले अब पोस्ट–प्रोडक्सनमा पनि उत्तिकै मेहनत गरिने बताएका छन्। उनका अनुसार सम्पूर्ण कलाकार र प्राविधिक टोलीले छायांकन अवधिभर निकै समर्पणका साथ काम गरेका छन्, र त्यही स्तरको मेहनत सम्पादन तथा अन्य प्राविधिक पक्षमा पनि गरिनेछ।
चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँग सहकार्यमा रहेका छन्। कुमारले तयार पारेको कथामा आधारित भएर दीपकले चलचित्र निर्माण गरेका हुन्।
‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य, करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा देखिनेछन्। साथै कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल र सुमन ज्योति न्यौपाने लगायत कलाकारको पनि अभिनय रहेको छ।
कथाकार कुमार कट्टेल हुन् भने पटकथा लेखनमा सविन अधिकारी र वसन्त न्यौपानेको सहकार्य रहेको छ। चलचित्रलाई सामाजिक कथावस्तुमा आधारित ड्रामाका रूपमा निर्माण गरिएको हो, जसले दुई पुस्ताबीचको सोच, सम्बन्ध र वैचारिक द्वन्द्वलाई केन्द्रमा राखेको छ।
चलचित्रका निर्माता उमेशकुमार बराल र चिरन के.सी. हुन्। गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा आबद्ध छन्।
निर्देशक दीपक आचार्यले चलचित्रका केही गीतको शब्दसमेत लेखेका छन् भने गीतमा हर्क साउदको पनि योगदान रहने बताइएको छ।
प्राविधिक पक्षमा शिवराम श्रेष्ठ छायांकन निर्देशक, मित्र डी. गुरुङ सम्पादक, बाबु गिरी संगीतकार तथा गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशक रहेका छन्।
रामबाबु खड्का प्रमुख सहायक निर्देशक हुन् भने सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशकका रूपमा कार्यरत छन्। सुवास राज काफ्ले प्रोजेक्ट म्यानेजर, विशाल न्यौपाने प्रोडक्सन डिजाइनर, विक्रम गौतम मेकअप आर्टिस्ट तथा सन्तोष क्षेत्री स्टिल र बीटीएस फोटोग्राफीमा संलग्न छन्।
निर्माण टिमका अनुसार चलचित्र २०८३ माघ १ गते (१५ जनवरी २०२७)देखि देशभर प्रदर्शनमा आउनेछ। यसको देशव्यापी वितरण आरआर फिल्मस्ले गर्नेछ, जसको नेतृत्व रोहित कट्टेल र रत्न श्रेष्ठले गरिरहेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd