नेपालमा कमेडी एक्टमा केन्द्रित पहिलो रियालिटी शो ‘सुपर कमेडी लिग’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टको निर्माणमा तयार हुन लागेको शोको घोषणा ललितपुरको चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो।
हास्य र अभिनयलाई मुख्य आधार बनाइएको कार्यक्रममा महानायक राजेश हमाल ‘लिग प्रेसिडेन्ट’को भूमिकामा रहनेछन्। कलाकार विल्सन बिक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा सहभागी हुनेछन्।
कार्यक्रमका लागि देशका पाँच सहरमा अडिसन सञ्चालन गरिने भएको छ। साउन २९ गते दमक, साउन ३१ गते नारायणगढ, भदौ २ गते नेपालगन्ज, भदौ ४ गते पोखरा र भदौ ६ गते काठमाडौंमा अडिसन हुनेछ। अडिसनबाट छनोट हुने ३२ प्रतिस्पर्धीलाई चार टोलीमा विभाजन गरिनेछ र प्रत्येक टोलीको नेतृत्व एक–एक क्याप्टेनले गर्नेछन्।
निर्माण टिमका अनुसार अडिसनमा उपस्थित हुन नसक्ने वा विदेशमा रहेका नेपाली भाषी प्रतिभाहरूले Supercomedyleague@gmail.com वा ९८०२३७२१८० मार्फत भिडियो पठाएर डिजिटल अडिसनमा सहभागी हुन सक्नेछन्।
‘सुपर कमेडी लिग’ व्यक्तिगतभन्दा टिम–बेस्ड प्रतिस्पर्धा हुने कार्यक्रम हो। एउटै स्क्रिप्टमा कम्तीमा दुई जना तथा आवश्यकताअनुसार बढी कलाकारले संयुक्त प्रस्तुति दिनेछन्। स्केच, स्किट र ड्रामेडी (ड्रामा + कमेडी) शैलीका प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहनेछन्।
कार्यक्रमका निर्देशक एलिन श्रेष्ठले यसको उद्देश्य केवल कमेडियन खोज्नु नभई कमेडी एक्टमा उत्कृष्ट अभिनय गर्न सक्ने कलाकारको खोजी गर्नु रहेको बताए। प्रतिभाशाली कलाकारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्यसहित कार्यक्रम निर्माण गर्न लागिएको उनको भनाइ छ।
श्रेष्ठले नेपाली टेलिभिजन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका छन्। उनले नेपाल आइडल, सारेगम लिल च्याम्प्स, बुगि बुगि, मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्स जस्ता चर्चित रियालिटी शो निर्देशन गरिसकेका छन्।
कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ भने डिजिटल प्लेटफर्म ओएसआरमार्फत दर्शकमाझ पुग्नेछ। कार्यक्रमसँग सम्बन्धित पर्दापछाडिका सामग्री सारङ्गी मिडियामार्फत सार्वजनिक गरिने जानकारी दिइएको छ।
निर्माण पक्षका अनुसार ‘सुपर कमेडी लिग’को नियमित प्रसारण भदौको अन्तिम सातादेखि सुरु हुनेछ। निर्देशक श्रेष्ठले यो कार्यक्रम विशुद्ध पारिवारिक मनोरञ्जनमा आधारित हुने र नेपाली दर्शकलाई नयाँ स्वादको हास्य मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd