अभिनेत्री नीता ढुंगानाले निर्देशनमा डेब्यू गरेको फिल्म पार्वती’को नयाँ गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको कीर्तिपुर सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममा निर्माण टिमले बालगायक अशोक दर्जीको स्वरमा रहेको भावुक गीत सार्वजनिक गरेको हो । कार्यक्रममा अशोकले लाइभ ब्यान्डसँगै गीत प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए ।
धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत रहेको गीतले दिदीभाइको आत्मीय सम्बन्धलाई केन्द्रमा राखेको छ । रक्षाबन्धनको सन्दर्भसँग जोडिएको गीतमा टाढा रहेकी दिदीलाई सम्झँदै भाइले व्यक्त गरेको माया, सम्झना र भावनात्मक पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा नीता ढुंगाना र अशोक दर्जीलाई देख्न सकिन्छ । भिडियोमा नीताले फिल्मकी मुख्य पात्र पार्वतीको रूपमा अभिनय गरेकी छन्, जो अटिजम भएकी युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । यस भूमिकाले फिल्मप्रति दर्शकको चासो अझ बढाएको छ ।
फिल्म जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा नीता ढुंगाना, अशोक दर्जी, दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल र सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मका निर्माता ज्योतिष तथा अभिनेता हरिहर अधिकारी हुन् भने शंकर पाण्डे कार्यकारी निर्माताको रूपमा रहेका छन् ।
नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘पार्वती’को कथा स्वयं नीता ढुंगानाले लेखेकी हुन् । शिवम् अधिकारीले पटकथा तथा संवाद तयार पारेका छन् ।
प्राविधिक पक्षमा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन, एलिस कार्की र शिवम् रसाइलीको पार्श्व संगीत रहेको छ । साथै प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माले संगीत दिएका छन् भने रामजी लामिछानेले नृत्य निर्देशन सम्हालेका छन् ।
भावनात्मक पारिवारिक सम्बन्ध, विशेष आवश्यकता भएका पात्रको जीवन र सामाजिक संवेदनशीलतालाई समेट्ने प्रयास गरिएको ‘पार्वती’ले दर्शकमाझ फरक स्वादको नेपाली फिल्मको अपेक्षा जगाएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd