निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ फिल्म द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई अनुबन्ध गरेका छन्। यसअघि अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरिसकेका सौरभले अब दयाहाङलाई पनि टोलीमा भित्र्याएका हुन्।
‘लुट’पछि नेपाली फिल्म उद्योगमा लोकप्रिय बनेको दयाहाङ–सौगात जोडी फेरि एउटै फिल्ममा देखिने भएपछि फिल्मप्रति दर्शकको चासो बढ्ने देखिएको छ। यी दुई कलाकारको सहकार्यलाई नेपाली रजतपटको सफल संयोजन मानिन्छ।
सौरभ चौधरीले हालसम्म दयाहाङ र सौगातलाई अनुबन्ध गरिसकिएको र अझै केही ‘सरप्राइजिङ’ कलाकारको नाम सार्वजनिक गर्न बाँकी रहेको बताएका छन्। उनका अनुसार यसपटक दर्शकलाई ठूलो स्केलको स्तरीय र प्रतिक्षित फिल्म दिने लक्ष्य राखिएको छ।
दयाहाङसँग सौरभको यो पहिलो सहकार्य हो। निर्देशकले फिल्ममा दयाहाङलाई दर्शकले पहिलेभन्दा फरक शैली र चरित्रमा देख्न पाउने संकेत दिएका छन्।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘द राइज अफ साम्राज्य’लाई मल्टिस्टारर फिल्मका रूपमा प्रस्तुत गरिने तयारी छ। फिल्मको कथा र पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीले यसलाई ‘एपिक एक्सन ड्रामा’को रूपमा वर्णन गरेका छन्।
निर्माण पक्षका अनुसार यो फिल्म सौरभ चौधरीको अहिलेसम्मकै सबैभन्दा ठूलो क्यानभासमा बन्ने परियोजना हुनेछ। नेपाली सिनेमामा कमै देखिएको स्तरको भव्य एक्सन प्रस्तुति तयार पार्ने दाबी निर्माण टिमले गरेको छ।
फिल्मको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुने तय गरिएको छ। करिब ७० दिनको छायांकन तालिका बनाइएको छ, जसको अधिकांश भाग पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ।
फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) को–प्रोडुसरका रूपमा रहेका छन् भने शंकर पाण्डे कार्यकारी निर्माता हुन्।
फिल्मको डीओपी मानकृष्ण महर्जन रहनेछन् भने एक्सन निर्देशन श्री श्रेष्ठले सम्हाल्नेछन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरण पार्टनरका रूपमा जोडिएका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd