नेपाली चलचित्र ‘बा : एक योद्धा’ प्रदर्शनअघि नै आफ्ना गीतका कारण दर्शकमाझ चर्चा कमाइरहेको छ। युट्युबमा सार्वजनिक गरिएका दुई गीतले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएका छन्।
युट्युब प्रयोगकर्ता टेकेन कँडेलले लोकलयको गीत **‘नभन्नू कोइसित’**लाई “धेरै राम्रो सन्देश बोकेको लोक संस्कारयुक्त गीत” भन्दै १० मध्ये ८ अंक दिएका छन्। उनले शीर्ष गीत **‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’**लाई अझ प्रभावशाली भन्दै “१० मा ९.९९ भन्दा कम दिन नसकिने” प्रतिक्रिया व्यक्त गरेका छन्।
त्यस्तै सिबी राना मगरले पनि ‘नभन्नू कोइसित’ मन परेको उल्लेख गर्दै सागर आले र समीक्षा अधिकारीको स्वरको प्रशंसा गरेका छन्। पञ्चेबाजाको मौलिक स्वाद बोकेको गीत धेरैपछि सुन्न पाउँदा आनन्द लागेको उनले प्रतिक्रिया दिएका छन्।
गीतहरू सार्वजनिक भएपछि चलचित्रको निर्माण टिम उत्साहित बनेको छ। केही दिनअघि ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको थियो भने त्यसअघि चलचित्रको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ दर्शकमाझ ल्याइएको थियो। दुवै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।
भदौ १९ गते प्रदर्शनमा आउने चलचित्र ‘बा : एक योद्धा’ले नेपाली परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने कठिनाइलाई मुख्य कथावस्तु बनाएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउँदैछ। नेपाली संगीत क्षेत्रमा धेरै लोकप्रिय गीत दिएका लम्सालका लागि यो पहिलो फिचर फिल्म निर्देशन हो।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा र पटकथा पनि हरि लम्सालले नै तयार पारेका हुन्। चलचित्रका निर्माता वसन्त लम्साल, कार्यकारी निर्माता अनिल बुढाथोकी, लाइन प्रोड्युसर अर्जुन पौडेल तथा सह–निर्माता कृष्ण काफ्ले रहेका छन्।
शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd