निर्देशक सौरभ चौधरीको आगामी चलचित्र ‘द राइज अफ साम्राज्य’को कलाकार टोली थप बलियो बनेको छ। चलचित्रमा अभिनेता नाजिर हुसेन मुख्य भूमिकामा अनुबन्धित भएका छन्। यसअघि नै सौगात मल्ल र दयाहाङ राईसँग सहकार्य गरिसकेका निर्देशक चौधरीले अब नाजिरलाई पनि कथाको महत्वपूर्ण पात्रका रूपमा प्रस्तुत गर्ने भएका हुन्।
नाजिर र सौरभको यो पहिलो सहकार्य भने होइन। यसअघि चलचित्र ‘अगस्त्य’मा उनीहरूले सँगै काम गरेका थिए। निर्देशक चौधरीले नाजिरको अभिनय क्षमतालाई ध्यानमा राख्दै उनलाई चलचित्रको प्रमुख कलाकारमध्ये एकका रूपमा छनोट गरिएको बताएका छन्।
सौगात, दयाहाङ र नाजिरको उपस्थितिले ‘द राइज अफ साम्राज्य’लाई मल्टिस्टारर चलचित्रका रूपमा अघि बढाउने संकेत गरेको छ। निर्देशकका अनुसार चलचित्रमा अझै केही प्रभावशाली कलाकार जोडिने क्रम जारी छ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीले यसलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा तयार पार्ने बताएका छन्। निर्माण पक्षले नेपाली चलचित्रमा अहिलेसम्मकै ठूलो स्केलमा एक्सन प्रस्तुत गर्ने लक्ष्य लिएको जनाएको छ।
चलचित्रको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु गर्ने तयारी छ। करिब ७० दिनको छायांकन तालिका बनाइएको छ, जसमा पूर्वी नेपालको लोकेसनलाई प्राथमिकता दिइनेछ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत ‘बेन’ सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जनले छायांकन सम्हाल्नेछन् भने एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन्।
ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरकका रूपमा जोडिएका छन्। कलाकारको प्रभावशाली लाइनअप र ठूलो बजेट तथा स्केलमा निर्माण गर्ने तयारीका कारण ‘द राइज अफ साम्राज्य’ नेपाली फिल्म उद्योगमा प्रतीक्षित एक्सन प्रोजेक्ट बन्ने देखिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd