logo

२०८३ भाद्र २७ शनिबार

कान्सको गौरव बोकेको ‘तिनीहरू’को नेपालमा प्रदर्शनअघि धमाधम प्रचार

कान्सको गौरव बोकेको ‘तिनीहरू’को नेपालमा प्रदर्शनअघि धमाधम प्रचार

403
SHARES
कान्सको गौरव बोकेको ‘तिनीहरू’को नेपालमा प्रदर्शनअघि धमाधम प्रचार

कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेर अन्तर्राष्ट्रिय चर्चा कमाएको नेपाली चलचित्र ‘तिनीहरू : इलिफेन्ट इन द फग’ यतिबेला नेपाल प्रदर्शनको तयारीमा छ। चलचित्रको टोलीले काठमाडौंमा विभिन्न कार्यक्रममार्फत प्रचारलाई तीव्रता दिएको छ।

भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी शोमा पुगेको चलचित्रको टोलीले सांगीतिक प्रस्तुतिमार्फत दर्शकको ध्यान खिच्यो। कार्यक्रमको सुरुवात चलचित्रमा समावेश ‘शादी के दिन में (ला ला ला ला)’ गीतमा नृत्य प्रस्तुत गर्दै गरिएको थियो। त्यसपछि टोली एनआईयूको स्टलमा पुगेर ‘बलम’ गीतमा प्रस्तुति दिएको थियो।

कलाकारहरूको प्रस्तुति हेर्न उपस्थित दर्शकसमेत उत्साहित देखिएका थिए। धेरै दर्शकले चलचित्रबारे चासो राख्दै नेपालमा प्रदर्शन भएपछि हलमै पुगेर हेर्ने प्रतिक्रिया दिएका थिए। टोलीले महेन्द्राको स्टलमा समेत विशेष प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।

‘तिनीहरू : इलिफेन्ट इन द फग’ कान्स फिल्म फेस्टिभलको यूएन सर्टेन रिगार्ड सेक्सनमा छनोट हुने पहिलो नेपाली फिचर फिल्म हो। कान्सको उक्त प्रतिष्ठित विधामा छनोट हुनुका साथै जुरी अवार्ड जितेर चलचित्रले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक पहिचान दिलाएको थियो।

यसैबीच, चलचित्रको टोली के–पप काठमाडौं डान्स फेस्टिभलमा पनि प्रमुख अतिथिका रूपमा सहभागी भएको छ। कोरियन पप नृत्यमा केन्द्रित कार्यक्रममा टोलीले प्रतियोगिताका विजेता तथा सहभागीहरूलाई पुरस्कार र सम्मान प्रदान गर्दै उनीहरूको प्रतिभाको प्रशंसा गरेको थियो। कार्यक्रममा ‘तिनीहरू : इलिफेन्ट इन द फग’ मुभी पार्टनरका रूपमा समेत जोडिएको थियो।

चलचित्रको अन्तर्राष्ट्रिय उपलब्धिको सम्मान गर्दै इन्फा अवार्डले पनि यसको टोलीलाई विशेष सम्मान गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै चलचित्रका सर्जक तथा कलाकारलाई सम्मान गरिएको हो।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले चलचित्रको प्रशंसा गरिन्। उनले कान्समा भएको चलचित्रको वर्ल्ड प्रिमियरमा आफू सहभागी भएको स्मरण गर्दै त्यहाँ नेपाली चलचित्रले पाएको करिब आठ मिनेट लामो स्ट्यान्डिङ ओभेसनलाई गौरवपूर्ण क्षणका रूपमा उल्लेख गरिन्।

डंगोलले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको यो उपलब्धि सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताउँदै दर्शकलाई ‘तिनीहरू’ हेर्न आग्रह गरिन्। उनले नेपाली चलचित्रलाई माया र समर्थन गर्नसमेत आह्वान गरेकी छन्।

कान्सको प्रतिष्ठित मञ्चबाट नेपालको प्रतिनिधित्व गर्दै अवार्ड जितेको ‘तिनीहरू : इलिफेन्ट इन द फग’ अब भने नेपाली दर्शकमाझ पुग्दैछ। चलचित्र भदौ १९ गतेदेखि नेपालका हलमा प्रदर्शनमा आउने तयारीमा छ।


सोमबार, १ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go