निर्देशक सौरभ चौधरीको आगामी चलचित्र ‘द राइज अफ साम्राज्य’को कलाकार टोलीमा अभिनेता विजय बराल पनि जोडिएका छन् । यसअघि सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनलाई अनुबन्ध गरिसकेको चलचित्रमा विजयको प्रवेशसँगै यसको स्टारकास्ट थप बलियो बनेको छ ।
निर्देशक चौधरीले कथाको माग र दर्शकको रुचिलाई ध्यानमा राख्दै कलाकार छनोट गरिरहेको बताएका छन् । उनका अनुसार चलचित्रको लाइनअपलाई अझ प्रभावशाली बनाउने क्रममा विजयलाई टोलीमा समावेश गरिएको हो ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘द राइज अफ साम्राज्य’ मल्टिस्टार चलचित्रका रूपमा अगाडि बढिरहेको छ । चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले तयार पारेका हुन् । निर्देशक चौधरीले यसलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा निर्माण गर्न लागेका छन् ।
यसपटक आफूले अघिल्ला चलचित्रभन्दा ठूलो क्यानभासमा काम गर्ने तयारी गरेको निर्देशक चौधरीको भनाइ छ । निर्माण पक्षले चलचित्रलाई नेपाली सिनेमाकै ठूलो स्केलमा बन्ने एक्सन फिल्मका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
चलचित्रको छायांकन आगामी साताबाट सुरु हुने बताइएको छ । ७० दिनको छायांकन तालिका बनाइएको चलचित्रको अधिकांश दृश्य पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा जोडिएका छन् ।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डीसीएन रहेका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd