logo

२०८३ भाद्र २९ सोमबार

धुर्मुस’ दुई महिनाको नेपाल बसाइपछि पुनः अमेरिका फर्किए

धुर्मुस’ दुई महिनाको नेपाल बसाइपछि पुनः अमेरिका फर्किए

325
SHARES
धुर्मुस’ दुई महिनाको नेपाल बसाइपछि पुनः अमेरिका फर्किए

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको नेपाल बसाइपछि पुनः अमेरिका फर्किएका छन् । गत जेठको अन्तिम साता छोरी सुबिहानीसँगै नेपाल आएका उनी बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गर्दै अमेरिका फर्किएको जानकारी दिएका हुन् ।

कट्टेलले राज्यका विभिन्न निकायमा धाउँदा पनि आफ्नो समस्या सम्बोधन नभएको गुनासो गरेका छन् । न्यायको अपेक्षासहित दुई महिना निरन्तर प्रयास गरे पनि आफ्नो आवाज नसुनिएको र समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको उनको भनाइ छ । उनका अनुसार भरतपुर महानगरपालिकाबाट रंगशालाका लागि विनियोजित १५ करोड रुपैयाँसमेत फ्रिज हुने अवस्था बनेको छ ।

आफ्नै देशमा न्यायका लागि आवाज उठाउँदा पनि सुनुवाइ नभएको भन्दै उनले आफू निराश बनेको बताएका छन् । समाज र राष्ट्रका लागि लामो समय योगदान दिँदा राज्यबाट अपेक्षित साथ र प्रोत्साहन नपाएको उनको गुनासो छ ।

यद्यपि राज्यप्रतिको आफ्नो आशा अझै समाप्त नभएको कट्टेलले उल्लेख गरेका छन् । कुनै दिन आफ्नो संघर्ष र पीडाको मूल्यांकन हुने तथा राज्यले आफूहरूलाई सम्झिने विश्वास उनले व्यक्त गरेका छन् ।

चितवनमा क्रिकेट रंगशाला निर्माणका क्रममा धुर्मुस–सुन्तली फाउन्डेसनमाथि १८ करोड रुपैयाँभन्दा बढी ऋण दायित्व सिर्जना भएको बताइन्छ । यही ऋण फर्स्यौटको विषयलाई लिएर कट्टेलले लामो समयदेखि राज्यसँग पहल गर्दै आएका छन् । समस्या समाधान हुन नसकेपछि उनी निराश बनेका थिए ।

यसअघि उनी छोरीको उपचारका लागि अमेरिका गएको बताइएको थियो । कट्टेलले अमेरिकी ग्रीनकार्डसमेत लिइसकेको जानकारी सार्वजनिक भइसकेको छ ।

 


बिहिबार, ४ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go