रक्षा बन्धनको अवसरलाई लक्षित गर्दै भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शनको एक साताअघि बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण पक्षले करिब चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।
नीता ढुंगाना र अशोक दर्जीलाई केन्द्रमा राखिएको ट्रेलरले दिदीभाइबीचको आत्मीय सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । फिल्ममा नीताले अटिजम भएकी पार्वतीको चरित्र निर्वाह गरेकी छन् भने अशोकले उनका भाइको भूमिका निभाएका छन् ।
ट्रेलरमा दिदीभाइको सम्बन्धसँगै सन्तानप्रति अभिभावकको माया, सामाजिक अन्धविश्वास तथा फरक क्षमता भएका व्यक्तिप्रति समाजको व्यवहारलाई कथाको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ । पारिवारिक भावनासँगै सामाजिक विषयलाई जोडिएको ट्रेलरले फिल्मको कथावस्तु गम्भीर र संवेदनशील रहेको संकेत गर्छ ।
नीता ढुंगानाको निर्देशनमा बनेको फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल र सुवास गजुरेललगायत कलाकारको अभिनय छ ।
ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन् । नीता फिल्म्सको प्रस्तुतिमा बनेको ‘पार्वती’को कथा नीताकै हो । शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका छन् ।
सुदीप बरालको छायांकन रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका छन् । पार्श्व ध्वनी एलिस कार्की र शिवम् रसाइलीको छ भने रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् । फिल्ममा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd