बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को स्वरांकन कार्य सुरु भएको छ । बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा चलचित्रको स्वरांकन थालिएको हो ।
गौशालास्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा आयोजित स्वरांकन कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीको सहभागिता थियो । तिहारलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको स्वरांकनको सुरुवात अभिनेता हरिवंश आचार्यले गरेका हुन् ।
निर्माण पक्षले चलचित्रको सम्पूर्ण पोस्ट–प्रोडक्सन साउन्ड डल्बी एट्मस प्रविधिमा तयार गरिरहेको जनाएको छ । यसले दर्शकलाई सिनेमाघरमा उच्चस्तरीय र फरक ध्वनि अनुभव दिने अपेक्षा गरिएको छ ।
निर्देशक वसन्त निरौलाका अनुसार पोस्ट–प्रोडक्सनको कामसँगै स्वरांकन सुरु गरिएको हो । उनले चलचित्रको प्राविधिक पक्षमा कुनै सम्झौता नगरिएको बताउँदै दर्शकले दृश्यसँगै ध्वनिमा पनि नयाँ अनुभव लिन सक्ने दाबी गरे ।
म्युजिक नेपालले करिब १० करोड रुपैयाँ लगानीमा गत माघदेखि डल्बी एट्मसबाट मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको हो ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली फिल्म क्षेत्रका स्थापित तथा नयाँ पुस्ताका कलाकारहरूको जमघट छ । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य पाँच पात्रको भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सीता न्यौपाने लगायतका कलाकार पनि चलचित्रमा देखिँदैछन् ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता काली रानी श्रेष्ठ हुन् । यसअघि नवीनले ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको ‘पाँच पाण्डव’लाई लेखकले सामाजिक विषयमा आधारित चलचित्रका रूपमा व्याख्या गरेका छन् । महाभारतका पाँच पाण्डवका चरित्र र प्रतीकलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको उनको भनाइ छ ।
झापा तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रलाई श्याम तामाङले खिचेका हुन् । सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ ।
रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेको चलचित्रलाई तिहारमा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशभर वितरण गर्नेछ ।
नाम, विषयवस्तु र मल्टी–स्टारकास्टका कारण ‘पाँच पाण्डव’ प्रदर्शनअघि नै दर्शकमाझ चर्चामा रहेको चलचित्र हो ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd